मेलाबारे जानकारी दिँदै आयोजक ।
मेलाबारे जानकारी दिँदै आयोजक ।

हेटौँडा । स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण तथा रोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला हुने भएको छ ।

हेटौँडा उपमहानगरपालिका –१० को आयोजनामा माघ १६ र १७ गते मेला हुन लागेको हो । हेटौँडा –१० स्थित बसपार्कमा आयोजना हुने प्रदर्शनीमा हेटौँडा उपमहानगरका –१९ वटै वडामा स्थानीयस्तरमा उत्पादन भएका घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री गरिने वडाअध्यक्ष फुर्वादोर्जे लामाले जानकारी दिए।

१९ वटै वडाका किसान तथा व्यवसायीले उत्पादन तथा निर्माण गरेका सामग्री प्रदर्शनीमा राखिने छन् । प्रदर्शनीका लागि घरेलु उत्पादनका एक सयवटा स्टल रहनेछन् । स्टल राख्ने उत्पादक तथा व्यवसायीका लागि यातायात सुविधा उपलब्ध गराइने र स्टल निःशुल्क प्रदान गरिने वडाअध्यक्ष लामाले बताए।

उत्कृष्ट प्रदर्शनी गर्ने सहभागीलाई पुरस्कृत पनि गरिनेछ । मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा पनि १९ वटै वडाको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । सान्त्वना पुरस्कारस्वरुप चार जनालाई जनही ५ हजार रुपियाँ प्रदान गरिने जानकारी दिइएको छ ।

प्रदर्शनीअवधिमा मौलिक खानाका परिकारका स्टल, ज्येष्ठ नागरिक सम्मान, वडाभित्रका संस्थागत तथा सामुदायिक विद्यालयबाट एसइई र माध्यमिक तहमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी सम्मान, राष्ट्रिय खेलाडी सम्मान, अटोमेकानिक मिस्त्री सम्मान, उद्यमशीलता सम्मान, कृषक सम्मानलगायत विभिन्न विधामा सम्मान कार्यक्रम आयोजना गरिने वडा कार्यालयले जनाएको छ ।