हेटाैँडा । वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेर फर्किएका बकैया गाउँपालिका–३, बनसका ४० वर्षीय मंगल सिं डिम्डुङले आफ्नो जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन्। दुवै मिर्गौला फेल भएर गम्भीर अवस्थामा रहेका डिम्डुङ आर्थिक अभावका कारण नियमित उपचारबाट वञ्चित भएका हुन्।
करिब २ वर्षअघि ऋण गरेर निर्माण सम्बन्धी कामका लागि युएई गएका डिम्डुङको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी स्वदेश फर्किएका थिए। हाल उनको टाउकोमा करिब २० लाख रुपैयाँ ऋण छ। पारिवारिक स्रोतका अनुसार, बसोबास रहेको जग्गा ऐलानी भएका कारण धितो राख्न वा बिक्री गर्न मिल्ने अवस्था छैन। साथमा रहेका गरगहना बिक्री र स्थानीयको सहयोगबाट केही समय उपचार भए पनि अहिले रकम अभावमा उनी घरमै अक्सिजनको सहारामा बस्न बाध्य छन्।
उपचार खर्च नहुँदा चिकित्सकले सिफारिस गरे अनुसारको नियमित डायलासिस र औषधि सेवनमा समस्या भएको छ। परिवारमा कमाउने मुख्य व्यक्ति नै ओछ्यान परेपछि श्रीमती र छोरीसहितको परिवारलाई छाक टार्न समेत समस्या भएको छ ।
मिर्गौला प्रत्यारोपण गर्न सके बाँच्ने आशा राखेका डिम्डुङले भने, ‘मेरो जीवन मरण तपाईंहरूको हातमा छ, आफ्नै परिवार सम्झेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।’
पीडित परिवारले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोग गरिदिन आग्रह गरेका छन्। बुवाको उपचारका लागि सहयोगी मनहरूसँग अपिल गर्दै छोरा अजयले लक्ष्मी सनराइज बैंकमा रहेको खाता नम्बर १००४०००२६५८ (10040002658) मा सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन्।
साथै, थप जानकारी लिन वा प्रत्यक्ष सहयोग गर्न चाहने महानुभावहरूले छोरा अजय डिम्डुङको मोबाइल नम्बर ९८६१६२१११४ मा सम्पर्क गर्न सक्नुहुनेछ। मिर्गौला प्रत्यारोपण त धेरै परको कुरा, अहिले सामान्य डायलासिस गरेर बुवालाई बचाइदिन अजयले सबैसँग याचना गरेका छन्।


संजिव सुनार 









प्रतिक्रिया दिनुहोस्