हेटाैँडा । हरेक वर्षझैँ यस वर्ष पनि मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले ३२३ औँ साहित्य श्रृंखला एवं ३३ औँ वार्षिक उत्सवका अवसरमा अयोजना हुने बकैया कला साहित्य महोत्सव, २०८२ मा विभिन्न विद्याका ११ जनालाई सम्मान गर्ने भएको छ ।
झरनाका अध्यक्ष गायत्री रूपाखेतीले यही फागुन ५ र ६ गते दुई दिन चल्ने साहित्य महोत्सवका अवसरमा विविध कार्यक्रमसँगै सम्मान समर्पण गर्ने जानकारी दिइन्। उनका अनुसार महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई सात प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन तथा नवसर्जक रचना वाचनलगायतका कार्यक्रम गरिनेछ।
संस्थाले यस वर्ष पनि एकजना पत्रकारसहित साहित्य तथा कला क्षेत्रमा योगदान पुर्याएका मकवानपुरसहित देशका विभिन्न जिल्लाका ११ जना व्यक्तित्वलाई नगदसहित सम्मान गर्ने तयारी गरेको अध्यक्ष गायत्री रुपाखेतीले बताइन्। उनका अनुसार पत्रकारिताका माध्यमबाट संस्थाको उन्नयनमा सहयोग गरेबापत ११ हजार १११ राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट यस वर्ष काठमाडौंमा कार्यक्षेत्र बानाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका मकवानपुरका दीपक अधिकारीलाई प्रदान गरिने भएको छ ।
यसैगरी, नगद २१ हजार १२१ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ पाँचथरका साहित्यकार रमेश शुभेच्छुकलाई प्रदान गरिनेछ भने १५ हजार ५५५ राशिको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान यस वर्ष रुकुम पश्चिमका कर्णबहादुर खत्रीलाई प्रदान गरिनेछ। यो सम्मान चैतको चौथो शनिबार हेटौँडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिने अध्यक्ष रुपाखेतीले जानकारी दिइन्।
यस्तै, १५ हजार ५५५ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ मकवानपुरका डा. निमेष निखिललाई प्रदान गरिनेछ भने युवा साहित्यकारलाई प्रदान गरिदैँ आएको नगद ८ हजार पाँच सय राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ नेपालगन्जकी ऋचा लुइँटेललाई प्रदान गरिने भएको छ। मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिँदै आएको नगद ७ हजार ७७७ राशिको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ संगीता थापालाई प्रदान गरिनेछ।
यसैगरी, ७ हजार ७७७ रुपैयाँको सञ्जीवनी बुटी साहित्य सम्मान–२०८२ मकवानपुरका डा. अर्पण पराजुलीलाई प्रदान गरिनेछ भने ५ हजार ५५५ रुपैयाँ राशिको बकैयाका नवप्रतिभाको सम्मान झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ यस वर्ष बकैया–३ स्थित बुद्ध मावि हात्तीसुढेकी मोनिका नेगीलाई प्रदान गरिनेछ ।
मकवानपुरमा रहेर कलाका क्षेत्रमा योगदान गरेबापत प्रदान गरिँदै आएको ७ हजार ७७७ सहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ यस वर्ष हेटौँडाका सूर्य सन्न्यासी र छन्द कवितामा उल्लेख्य योगदान गरेबापत नगद ७ हजार ७७७ राशिसहितको ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८२ भैरहवाकी सिर्जना खनाललाई प्रदान गरिने भएको छ। र, यसै वर्ष स्थापना गरिएको ११ हजार १११ राशिको कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान–२०८२ साहित्यकार तथा लोकगायक बझाङका नन्दकृष्ण जोशीलाई प्रदान गरिने आयोजकले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्