हेटाैँडा । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाका किसानलाई बिहानैदेखि अबेरसम्म खेतबारीमा मल हाल्ने, ड्याङ बनाउने र आलु रोप्ने काममा भ्याइनभ्याइ छ।
यहाँका अधिकांश बासिन्दा यतिबेला आलु रोप्न दिनभर खेतबारीमै भेटिन्छन्। महिलाहरुलाई डोकोमा गाईभैंसीको मल बोकिरहेका हुन्छन् । पुरुषहरु खेतमा ड्याङ बनाउने र रोप्ने काममा खटिएका छन् ।
‘अहिले चुनावले छोएको छैन, आलु रोप्ने काम सकेपछि बल्ल चुनावतिर लाग्लान्,’ स्थानीय पूर्वशिक्षक सानोभाई कार्कीले भने,‘अहिले यस क्षेत्रका बासिन्दा आलु रोप्ने काममा व्यस्त छन् ।’
यहाँका कृषकहरु अहिले रासायनिक भन्दा प्रांगारिक मल प्रयोग गर्न थालेका छन् । रासायनिक मलले माटो बिगार्ने र खनेको आलु पनि चाडै कुहिने भएपछि प्रांगारिक मल प्रयोग गर्न थालेको कृषकहरु बताउँछन् । ‘थाहाका १२ वटै वडाका बासिन्दा अहिले आलु रोप्ने काममा व्यस्त छन्,’ थाहा नगरपालिकाका कृषि विकास अधिकृत सन्जय तिवारीले भने,‘अहिले कसैलाई बोल्ने फुर्सदसम्म छैन ।’
यो क्षेत्रमा बिहान बेलुका चिसो छ । तर पनि यहाँका बासिन्दा आलु रोप्ने काममा खटिएका छन् । यस क्षेत्रका बासिन्दालाई आलु खेती गर्न वर्षौंदेखिको अनुभव छ । आलु रोप्ने ड्याङ ६० सेन्टिमिटरको फरकमा बनाउँछन् भने २५ सेन्टिमिटरको दुरीमा आलु रोप्ने गर्छन् । ‘आलु खेती गर्न यहाँका बासिन्दा सामान्य प्राविधिक सरह ज्ञान राख्छन्,’ तिवारीले भने,‘रोग र विषादी प्रयोगबारे पनि थोरै ज्ञान भइसकेको छ । अरु त सबै सिकिसकेका छन् ।’ आलुलगायत तरकारी खेतीमा यस क्षेत्रका बासिन्दाले रासायनिक मल र विषादी प्रयोग गर्नु परे पनि कृषि प्राविधिकसँग सल्लाह लिने गरेको तिवारीले बताए।
यस क्षेत्रका कृषकहरुले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव, कुखुरे ज्योती र साजिटा जातको आलु रोप्ने गरेका छन् । उक्त क्षेत्रका बासिन्दालाई आवश्यक पर्ने आलुको बीउ थाहा नगरपालिकाको दामन बागवानी फार्मले उपलब्ध गराउँदै आएको छ । फार्मले प्रतिकेजी ४० रुपैयाँमा आलुको बीउ बिक्री गर्दै आएको छ ।
यहाँका कतिपय कृषक आफैले आलुको बीऊ काठमाडौंका शितभण्डारमा राखेर अहिले ल्याएर रोप्ने गरेका छन् । उक्त क्षेत्रमा शीतभण्डार नभएका कारणले कृषकहरुले बीउको आलु सुरक्षित साथ शीतभण्डारमा राख्न काठमाडौंमा लैजाने गरेका हुन्।
प्रदेश सरकार, थाहा नगरपालिका र स्थानीय सहकारीको संयुक्त लगानीमा थाहा-३ घर्तीखोलामा शीतभण्डार निर्माणाधीन अवस्थामा छ। छिट्टै शीतभण्डार संचालनमा आउने थाहाका मेयर विष्णुबहादुर विष्टले बताए।
माघ पहिलो सातादेखि सुरु हुने आलु रोप्ने काम फागुन पहिलो सातासम्म सकिन्छ । वैशाख अन्तिमदेखि आलु खन्न सुरु गरिन्छ।
थाहा नगरपालिका क्षेत्रमा ६ हजार ३ सय रोपनीमा आलु खेती गरिन्छ । गत वर्ष झण्डै ७ हजार टन आलु उत्पादन भएको थियो । गत वर्ष थाहा नगरपालिकामा आलुको उत्पादन राम्रो हुनुको साथै मूल्य पनि कृषकहरुले राम्र्रै पाएका थिए । थाहा नगरपालिकाको दामन, पालुङ, वज्रवराही, चित्लाङ, टिष्टुङ र आग्रा क्षेत्रका कृषकले प्रायः जेठ पहिलो साता आलु खन्न सुरु गर्छन् । तिवारीले यो क्षेत्रमा प्रतिरोपनी १५ क्विन्टल आलु उत्पादन हुने बताए।
काम गर्ने श्रमिकको अभावले भने आलु रोप्ने र खन्ने बेलामा समस्या हुने गरेको छ । आलु सुरक्षितसाथ भण्डारण गर्ने स्थानको अभावले गर्दा कृषकहरुले आलु खन्दाखन्दै खेतबाट नै बिक्री गर्नुपरेको छ।
कृषि शाखाका अनुसार थाहाबाट वर्षमा ५० करोड रुपैयाँ भन्दाबढीको आलु निर्यात हुने गर्छ । यहाँ उत्पादन हुने बेमौसमी आलु काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, भरतपुरलगायत विभिन्न सहरसहित भारतसम्म निर्यात हुने गर्छ । नगरपालिकाले वर्सेनि आलुको करबाटमात्र करिब ५७ देखि ६० लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको छ।
यहाँबाट निर्यात हुने आलुलगायत अन्य तरकारीमा ५१ वर्षदेखि स्थानीय कर लगाउँदै आएको छ । २०३१ सालदेखि रुपचन्द्र विष्टले दामन र पालुङमा आलुमा कर लगाउन सुरु गरेका थिए । त्यही करबाट संकलन भएको रकम यस क्षेत्रको शैक्षिक विकास एवं भौतिक पूर्वाधारहरुको निम्ति खर्च गरिँदै आएको थियो । उक्त कर अहिले नगरपालिकाले लगाउने गरेको छ ।
यस क्षेत्रमा आलु खेती २०१८ सालदेखि सुरु गरिएको स्थानीयको भनाई छ । आलुको उत्पादनसँग स्थानीयको जीवनशैली जोडिएको छ । स्थानीयले आलुसँगै अहिले अन्य तरकारी खेती पनि व्यवसायिक ढंगले गर्न थालेका छन् । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत भने अहिले पनि आलु नै हो ।












प्रतिक्रिया दिनुहोस्