हेटाैँडा । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् ।

नेकपा माओवादी मकवानपुरद्वारा बिहीबार हेटौंडामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा चन्दले निर्वाचनमा निष्पक्षताको संशय व्यक्त गरेका हुन् ।

वर्तमान सरकार निष्पक्ष व्यक्तिहरुको नभई राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्धहरुको समूह भएको उनले आरोप लगाए । सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको र यो सरकारले गराउने निर्वाचनको औचित्य समेत नरहेको जिकिर उनले गरेका थिए ।

उनले भदौ २३ को जेनजी आन्दोलनले माग गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आफ्नो पार्टीको पनि एजेन्डा भएको बताए । अहिले देशलाई विदेशी शक्तिहरुले खेलमैदान बनाएको भन्दै उनले नेपाललाई आफु अनुकुल नचलेपछि द्वन्द्वको अवस्थामा ल्याएको आरोप समेत लगाए ।

उनले जेनजीका माग पूरा गर्ने उद्देश्यले निर्वाचनमा भाग लिन लागेको दाबी गरे । मकवानपुरको दुवै क्षेत्रमा नेकपा (माओवादी)ले आफनो उम्मेदवारी दिएको छ । कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार महेश नेपाली, क्षेत्र नं. २ का उम्मेदवार राम घलान वाटर लगायतको उपस्थिति रहेको थियो ।