हेटाैँडा । मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा निर्माण गरिएको बिपी स्मृति कैलाश आधारभूत अस्पताल बुधबार उद्घाटन गरिएको छ । अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १७६ रुपैयाँको लगानीमा निर्माण गरिएको अस्पताल भवन ०७८ जेठ २७ गते निर्माण सम्झौता भएर ०८२ असारमा सम्पन्न भएको हो। आशिष/आशीर्वाद/स्वामी नारायण जेभीले निर्माण गरेको अढाईतले भवनमा १० शय्या क्षमताको अस्पताल सञ्चालनमा आएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अस्पतालको उद्घाटन गर्दै आगामी दिनमा स्वास्थ्य सेवा विस्तार र सडक पूर्वाधार स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लोकतन्त्र जनताको हितका लागि काम गर्ने व्यवस्था भएको उल्लेख गर्दै दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवा पहुँचमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले हाल १० शय्यामा सञ्चालन हुने अस्पताललाई आगामी दिनमा २५ शय्यासम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमार्फत समय–समयमा विशेषज्ञ सेवा उपलब्ध गराइने पनि उनले बताए । मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका प्राकृतिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यहाँका स्थानीयको जीवनस्तर सुधार गर्न प्रदेश सरकारले पूर्वाधार विकासमा प्राथमिकता दिने बताए ।

यसैक्रममा चुनिया–नामटार हुँदै कैलाश गाउँपालिका जोड्ने सडकको स्तरोन्नति प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले उक्त सडक बहुवर्षीय टेन्डरमार्फत निर्माण गरिने बताए । प्रदेश सरकारले पालिका र वडाहरूलाई प्रदेश राजधानीसँग जोड्ने सडक विस्तारमा आवश्यक बजेट व्यवस्थापन गर्ने उनको भनाइ थियो ।

बुधबार उद्घाटन गरिएको अस्पतालमा दुईजना चिकित्सकसहित २२ जनाको दरबन्दी छ । दरबन्दीअनुसार पाँचजना स्टाफ नर्स, दुईजना अनमी, तीनजना हेल्थ असिस्टेन्ट, दुईजना अहेव, एकजना कविराज, एकजना ल्याब टेक्निसियन, एकजना रेडियोग्राफर, एकजना फार्मेसी सहायक, एकजना डेन्टल हाइजिनिस्ट, एकजना नासु, दुईजना कार्यालय सहयोगी, एकजना सरसफाइकर्मी र एकजना सुरक्षाकर्मी रहने व्यवस्था गरिएको छ । तर, हालसम्म स्वास्थ्यचौकीको दरबन्दी मात्रै कायम रहेको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए ।

अस्पतालमा इमर्जेन्सी सेवासहित स्त्रीरोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे र इसिजी सेवा उपलब्ध गराउने योजना रहेको छ । २१ हजार ८५६ जनसंख्या रहेको कैलाश गाउँपालिका मकवानपुर सदरमुकाम हेटौँडाबाट करिब ४५ किलोमिटर टाढा पर्छ । जिल्लाकै दुर्गम पालिकामध्ये पर्ने कैलाशमा स्वास्थ्य सेवाको पहुँच सीमित रहँदै आएको थियो । अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई उपचारका लागि हेटौँडा वा मनहरी पुग्नुपर्ने बाध्यता कम हुने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

उपाध्यक्ष बालकुमार मल्ल ठकुरीका अनुसार अस्पताल सञ्चालनमा आएपछि कैलाश गाउँपालिकाका १० वटै वडा तथा छिमेकी राक्सिराङ गाउँपालिकाका वडा नम्बर ४ र ९ का बासिन्दा लाभान्वित हुनेछन् ।