हेटौँडा। पहिलो प्रयासमै लामो समयदेखि वामपन्थी दलहरूको प्रभाव रहेको क्षेत्रमा विजय हासिल गर्दै राजनीतिक यात्रा सुरु गरेका प्रशान्त उप्रेती उमेरले भर्खरै २५ वर्षका छन। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा सबभन्दा कान्छो सांसदका रूपमा मकवानपुर–२ बाट निर्वाचित उप्रेतीले २०४८ सालयता वामपन्थी दलको ‘किल्ला’ मानिँदै आएको क्षेत्रलाई ताेडेका मात्तोरै छैनन, भारी मतान्तरले पराजित पनि गरे । उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दा  गत निर्वाचनका विजेता नेकपा (एमाले) का महेश बर्तौला १८ हजार ८४६ मतमा खुम्चे ।

विसं २०५७ जेठ १० गते जन्मिएका उप्रेती हाल काठमाडौँ विश्वविद्यालयमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत नेतृत्व तथा व्यवस्थापन विषयमा अध्ययनरत छन । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर उम्मेदवारी दिएसँगै उनका बुवा रामचन्द्र उप्रेतीले ३४ वर्षदेखि रहेको नेकपा (एमाले) सँगको आबद्धता त्यागे । काठमाडौँको ठमेलमा साझेदारीमा ट्राभल एजेन्सी सञ्चालन गर्दै उनले सामाजिक विषयको अध्यापनको अनुभव पनि बटुले । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन शाहको सचिवालयमा रहेर काम गर्दैगर्दा उनमा युवाहरू पनि राजनीतिमा सक्रिय हुनुपर्ने भाव पलायो ।

नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टबाट ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) उत्तीर्ण गरेका उप्रेतीले २०१८ मा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौँबाट व्यवस्थापन विषयमा कक्षा १२ पूरा गरेका थिए भने माध्यमिक तहको अध्ययन मकवानपुरस्थित युनाइटेड सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलबाट २०७२ मा पूरा गरे । उप्रतीले गाउँका समस्या समाधान गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताए । उनले स्थानीयको समस्या समाधानका लागि उपाय खोजी गरी काम गर्ने लक्ष्य राखेका छन ।

आफूलाई मत दिएर विजयी बनाउने मतदाताप्रति धन्यवाद दिँदै भने , “गाउँको समस्या समाधानका लागि संसद्मा प्राथमिकताका साथ आवाज उठाउने छु । सुशासन कायम गर्न तथा आमनागरिकले सहज र समयमै सेवा पाउने वातावरण बनाउने काममा मेरो भूमिका रहन्छ ।”

युवालाई उद्यमशील र स्वरोजगार बनाउने, कृषिका समस्या समाधान गर्ने, बाँदरको समस्या न्यूनीकरण गर्ने तथा खेतीपातीका बेला किसानलाई समयमै मल उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । मकवानपुर–२ अन्तर्गत मनहरी क्षेत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनको समस्या, मध्यवर्ती क्षेत्रका समस्या समाधानका लागि पहल गर्न योजनाबद्ध भएर लाग्ने तयारी गरेको उप्रेतीले भने ।

निर्वाचन क्षेत्र अन्तर्गत विकट  राक्सीराङ क्षेत्रमा देखिएको गरिबीको समस्या समाधान गर्न आत्मनिर्भरताका कार्यक्रम ल्याउने भूमिका खेल्ने छु । यस क्षेत्रमा चट्याङ धेरै पर्ने भएकाले क्षति न्यूनीकरणका उपाय तथा विपत् व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्ने लक्ष्य लिएको उनले बताए ।

उनले भने , “आफू निर्वाचित क्षेत्रका केही युवा भीमफेदी कारागारमा लागुऔषधसम्बन्धी मुद्दामा सजाय भोगिरहेको पाएको छु । यस्तो अवस्थालाई ध्यानमा राख्दै लागुऔषध समस्या समाधान गरी यस्ता कुलतमा लाग्न नपर्ने वातावरण निर्माणमा मेरो भूमिका रहन्छ । चितवनसँग जोडिएका मनहरी, राक्सीराङ, कैलाश र थाहा नगरपालिका क्षेत्रका पर्यटकीय सम्भावनाको विकास गर्ने छु ।”