हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ ले शिक्षा र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् शैक्षिक प्रदर्शनी, खेलकुद तथा विविध शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने भएको छ । “हाम्रो अभियान, शैक्षिक अभियान” नारासहित शुक्रबार आयोजित पत्रकार भेटघाटमार्फत कार्यक्रमहरूको तालिका सार्वजनिक गरिएको हो ।

वडा अध्यक्ष नवीन सिग्देलका अनुसार वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य, स्वस्थ प्रतिस्पर्धा र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्य राखिएको उनले बताए।

कार्यक्रमअनुसार वैशाख १८ र १९ गते हुप्राचौरमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना हुनेछ, जसमा १६ टोली सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दुई सान्त्वना टोलीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यसैगरी, वैशाख २७ गते आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा तेस्रो वडा खेलकुद महोत्सवअन्तर्गत पुरस्कार वितरण कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा नगरस्तरीय फुटबल, भलिबल, क्रिकेट र बास्केटबल तथा वडास्तरीय एथलेटिक्स, हाजिरजवाफ, हिज्जे, वादविवाद, निबन्ध, कविता र वक्तृत्वकलालगायत प्रतियोगिताका विजेतालाई सम्मान गरिनेछ । साथै कक्षा ८ का उत्कृष्ट विद्यार्थी, अभिभावक र शिक्षकलाई नगदसहित सम्मान गरिने जनाइएको छ ।

विद्यार्थी उद्यमशीलता कार्यक्रम जेठ २ गतेदेखि भुटनदेवी माध्यमिक विद्यालयमा सुरु हुनेछ । त्यसैगरी, जेठ १४ गते रोयल पार्टी प्यालेसमा नगरस्तरीय बृहत् शैक्षिक प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता आयोजना गरिनेछ । प्रदर्शनीमा विज्ञान विषयका परियोजनाहरू प्रस्तुत गरिनेछन् भने “२० वर्षपछिको हेटौँडा” शीर्षकमा चित्रकला तथा नेपाली मौलिक संस्कृति झल्कने नृत्य प्रतियोगिता सञ्चालन गरिनेछ ।

कार्यक्रमहरूमा करिब १० हजार विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकले यस अभियानले शिक्षा क्षेत्रमा लगानी प्रवर्द्धन, गुणस्तर सुधार तथा समग्र शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।