हेटाैँडा । निर्माण सामग्री, इन्धन र श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले देशभर सञ्चालित निर्माण कार्य स्वतः बन्द हुने चेतावनी दिएका छन् ।

निर्माण व्यवसायी संघ मकवानपुरद्वारा बिहीबार जिल्ला प्रशासन कार्याय मकवानपुर मार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सरकारसमक्ष पटक–पटक मूल्य समायोजनको माग गरे पनि सुनुवाइ नभएको भन्दै निर्माण कार्य रोक्नुपर्ने अवस्था सिर्जना भएको चेतावनी दिइएको हो ।

संघका अध्यक्ष बाल गोपाल कँडेलसहित प्रशसन कार्यालय पुगेको निर्माण व्यवसायीहरूको टोलीले पछिल्लो समय डिजेल, बिटुमिनलगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको ध्यानाकर्षण गराएका थिए । उनका अनुसार मध्यपूर्वमा युद्ध सुरु हुनुअघि प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य हाल २२५ रुपैयाँ पुगेको छ भने बिटुमिन प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको छ ।

मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूलाई हालसम्म करिब १० अर्ब रुपैयाँबराबरको नोक्सानी भइसकेको दाबी गर्दै डिजेल, मट्टीतेल, बिटुमिन, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा भएको अस्वाभाविक वृद्धिले पुरानै दररेटमा काम गर्न नसकिने अवस्था आएको व्यवसायीहरूले बताए ।

प्रशासन कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारले विनियोजन गर्ने पूँजीगत बजेटको झण्डै ८० प्रतिशत खर्च निर्माण क्षेत्रमार्फत हुने र निर्माण उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी दिएको उल्लेख गरिएको छ । कुल गार्हस्थ उत्पादनमा समेत निर्माण क्षेत्रको उल्लेखनीय योगदान रहेकाले निर्माण उद्योग ठप्प हुँदा समग्र अर्थतन्त्र प्रभावित हुने महासंघको चेतावनी छ ।

निर्माण व्यवसायीहरूले भारतलगायत छिमेकी मुलुकले इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिअनुसार मूल्य समायोजन दिइरहेको अवस्थामा नेपालमा भने व्यवसायीहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिएको गुनासो गरेका छन् । महासंघले गत वैशाख २२ गते पत्रकार सम्मेलनमार्फत सरकारलाई मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय गर्न अल्टिमेटम दिएको थियो । तर हालसम्म कुनै ठोस निर्णय नभएको व्यवसायीहरूको आरोप छ ।

महासंघले अब निर्माण व्यवसायीहरू पुरानै इस्टिमेटमा काम गर्न नसक्ने स्पष्ट पारेको छ । ‘जति काम गर्‍यो त्यति घाटा हुने अवस्था छ । व्यवसायी आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेका छन्,’ अध्यक्ष कंडेलले भने ।

व्यवसायीहरूले निर्माण कार्य रोकिँदा उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उनको भनाई छ । उनले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने तथा थप दण्डात्मक कारबाही नगर्न पनि सरकारसँग आग्रह गरे । यस्तै अध्यक्ष कंडेलले पछिल्लो समय बढेको मुल्य बृद्धिका कारया निर्माण आयोजनाहरू निर्धारित समयमा सम्पन्न हुने सम्भावना नरहेको उल्लेख गर्दै सबै आयोजनाको म्याद थप, बैंक ग्यारेन्टी तथा इन्सुरेन्स नवीकरण र आवश्यक बजेट व्यवस्थापन गर्न सरकारसँग माग गरे ।