हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि नागरिकबाट सुझाव सङ्कलन सुरु गरेको छ । बजेट निर्माण प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित उपमहानगरपालिकाले डिजिटल माध्यमबाट सुझाव माग गरेको हो ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै क्यूआर कोडमार्फत नागरिकलाई आफ्ना सुझाव पठाउन आग्रह गरेको छ । १९ वटै वडाका नागरिक, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिलाई आगामी वर्षको विकास प्राथमिकता, योजना तथा कार्यक्रमबारे सुझाव दिन अनुरोध गरिएको छ ।

नगर प्रमुख मिना कुमारी लामाले नागरिक सहभागिताबिनाको विकास दिगो हुन नसक्ने बताइन । उनले नागरिकले अपेक्षा गरेको विकास र सेवामुखी योजना निर्माणले स्थानीय सरकारप्रति अपनत्व र विश्वास बढ्ने धारणा व्यक्त गरिन । “आमनागरिकको सहभागिता र चासोले नै आधुनिक विकासलाई दिगो बनाउँछ,” नगर प्रमुख लामाले भनिन, “सरोकारवाला निकायले मात्रै होइन, नागरिकले खोजेको विकास निर्माण तथा नीति तय गर्नु आवश्यक छ ।”

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न डिजिटल प्रणालीमार्फत सुझाव सङ्कलन गरिएको जानकारी दिइन् । स्थानीय तहहरूले पछिल्लो समय बजेट निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउने अभ्यास सुरु गरेका छन् । हेटौँडा उपमहानगरपालिकाले समेत प्रविधिमार्फत सुझाव सङ्कलन थालेसँगै स्थानीय विकास योजना निर्माणमा नागरिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।