हेटाैँडा ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १७, हटियास्थित कर्रा खोलामा आएको बाढीले आइतबार बिहान एउटा खाली ट्रक बगाएको छ । ट्रकका चालक भने पौडिएर ज्यान जोगाउन सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्रीनजिक कर्रा खोलामा आएको बाढीले ना.७ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो । उक्त ट्रक सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्किने क्रममा खोलामा ह्युमपाइप राखेर निर्माण गरिएको कल्भर्ट पार गर्ने प्रयास गरिरहेको वेला पानीको बहाव एक्कासि बढेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रकचालक चितवनको रत्ननगर नगरपालिका– १३ निवासी ३४ वर्षीय दीपक थिङ पौडिएर सुरक्षित बाहिर निस्कन सफल भएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । घाइते चालकलाई उपचारका लागि चौघडास्थित राजु मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटिया र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनामा अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बाढीले बगाएको ट्रक हाल कर्रा खोलामै रहेको छ। ट्रकलाई सुरक्षित रूपमा निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
मनसुन सक्रिय भएसँगै खोलानालामा पानीको बहाव बढ्दै गएको भन्दै प्रहरीले जोखिमपूर्ण अवस्थामा खोला तथा अस्थायी कल्भर्ट पार नगर्न सर्वसाधारण तथा सवारीचालकलाई आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस्