हेटौँडा । हेटौँडामा नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता हुने भएको छ । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा प्रतियोगिता हुन लागेको बुधबार पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
खेलकुदमार्फत स्वस्थ, अनुशासित, सिर्जनशील तथा जिम्मेवार नागरिक निर्माणसँगै स्थानीय खेलाडीको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगितामा उपमहानगरपालिकाका विभिन्न वडाको सहभागिता रहने उनले बताए ।
क्रिकेट प्रतियोगिताको व्यवस्थापन नगरस्तरीय क्रिकेट प्रतियोगिता व्यवस्थापन समिति, हेटौँडा–४ ले गर्नेछ भने प्राविधिक सहयोग मकवानपुर क्रिकेट संघले गर्ने जनाइएको छ । सम्बन्धित वडाका स्थायी बासिन्दा खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताको विजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित ५० हजार रुपैयाँ तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र नवप्रतिभावान खेलाडीलाई जनही २ हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता हुनका लागि असोज ७ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने तथा प्रतियोगिताको उद्घाटन असोज १० गते हुप्राचौरमा हुने क्रिकेट प्रतियोगिताका व्यवस्थापक विवेक कार्कीले जानकारी दिए ।
त्यसैगरी, नगरस्तरीय तेक्वान्दो प्रतियोगिता (जुनियर आमन्त्रण) मा हेटौँडाका १४ वटा डोजाङका करिब १६० जना खेलाडीको सहभागिता रहने जनाइएको छ । महिला तथा पुरुष खेलाडीका लागि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइने तेक्वान्दो प्रतियोगिताको व्यवस्थापन तथा प्राविधिक सहयोग मकवानपुर तेक्वान्दो डोजाङ र जिल्ला तेक्वान्दो डोजाङले गर्ने जनाइएको छ ।
तेक्वान्दो प्रतियोगिताको उद्घाटन असोज ३ गते हुने आयोजकले जनाएको छ । तेक्वान्दोतर्फ उत्कृष्ट खेलाडी तथा टोलीलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ । स्थानीयस्तरबाट प्रतिभावान खेलाडी पहिचान गरी जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने आयोजक हेटौँडा–४ का अध्यक्ष सिग्देलले विश्वास व्यक्त गरे । दुवै प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्