हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री थापाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रमा आलेमगरलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । उनलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने गरी नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ । आलेमगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । आलेमगर यसअघि तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट शालिकराम जम्कट्टेल नेतृत्वको युवा तथा खेलकुद मन्त्री बनेकी थिइन् ।
सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा छलफल चलिरहेकै बेला आलेमगरलाई मन्त्री नियुक्त गर्न लागिएको हो । नेकपाबाट यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भइसकेका छन् । अब आलेमगर कृषि मन्त्रालयमा नियुक्त भए नेकपाबाट सरकारमा दुई मन्त्री हुनेछन्।
सरकारमा एमालेबाट नियुक्त भएका विनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ अहिलेसम्म जिम्मेवारी बिहिन छन् भने आठ मन्त्रालय रहेको प्रदेशमा आन्तरिक मामिला तथा सहकारी मन्त्रालयको जिम्मेवारी स्वयं मुख्यमन्त्री थापाले आफुसँगै राखेका छन् । मुख्यमन्त्री थापामगर नेतृत्वको सरकारमा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीन दल सहभागी छन् । सरकार गठनका क्रममा एमालेबाट मुख्यमन्त्रीसहित तीन, राप्रपाबाट तीन र नेकपाबाट एक मन्त्री नियुक्त भइसकेका छन् ।













प्रतिक्रिया दिनुहोस्