हेटाैँडा । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जिल्लामा वडा अधिवेशन सञ्चालनका विषयमा कुनै विवाद नरहेको बताए। उनले वडा तहदेखि नै कार्यकर्ताहरू अधिवेशनमा सक्रिय रूपमा सहभागी भइरहेको उल्लेख गरे।

लामाका अनुसार जिल्लामा १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउने प्रयास भइरहेको छ। वडा अधिवेशनबाट सुरु हुने निर्वाचन प्रक्रियालाई सबै तहमा व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीका स्थानीय संरचना सक्रिय रहेको उनले बताए।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ। केन्द्रीय निर्वाचन समितिले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रियामा सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरेको छ।