हेटाैँडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ प्रतिस्पर्धा गरेका ८९ उम्मेदवारमध्ये तेस्रो स्थानमा रहँदै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन् ।

कांग्रेस मकवानपुरको सभापति, बागमती प्रदेश सभापति, प्रदेश संसदीय दलको नेता र मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका बानियाँले निर्वाचित भएपछि पार्टीलाई थप बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । महाधिवेशन प्रतिनिधिले दिएको मतलाई उनले आफ्नो राजनीतिक जीवनको पुँजी र सबैलाई एकताबद्ध बनाउने जिम्मेवारीका रूपमा लिएको बताएका छन् ।

‘ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई आगामी दिनमा अझ बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न यहाँहरूले प्रदान गर्नुभएको अमूल्य अभिभारा सदा निर्वाह गर्ने प्रतिबद्धता र संकल्प व्यक्त गर्दछु,’ बानियाँले भनेका छन् ।

उनले महाधिवेशनमा प्राप्त विश्वासलाई व्यक्तिगत सफलतासँगै पार्टी निर्माणको अभिमतका रूपमा व्याख्या गरेका छन् ।  ‘सबैलाई गोलबद्ध गर्दै अझ बलियो नेपाली कांग्रेस निर्माण गर्न महाधिवेशन प्रतिनिधिहरूबाट व्यक्त ऐतिहासिक अभिमत हो भन्ने मैले महसुस गरेको छु,’ उनले भनेका छन् ।

राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका निर्णायक बनाउन पार्टीभित्र रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै बानियाँले कांग्रेसलाई न्यायमुखी, आयमुखी, गरिबमुखी, विकासमुखी, गाउँमुखी र जनमुखी बनाउन अहोरात्र क्रियाशील रहने प्रण गरेका छन् ।