हेटाैँडा। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले मकवानपुरसहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै कात्तिक ११ देखि १४ गतेसम्म हुन सक्ने वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनलाई आधार मानेर प्रशासनले सम्भावित विपतबाट हुने क्षति न्यूनीकरणका लागि तयारी थाल्न आग्रह गरेको छ ।
वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउनुका साथै चुरे र पहाडी क्षेत्रमा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले सावधानी अपनाउन भनिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनामा किसानदेखि नदीकिनारका बासिन्दा, यात्रु र स्थानीय तहसम्मलाई जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न भनिएको छ ।
यस्तै, वर्षाका कारण कृषि उपजमा क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले किसानलाई पाकेको धानबाली तथा अन्य कृषि उपज कात्तिक ११ गते बुधबारभित्र सुरक्षित रूपमा भित्र्याउन आग्रह गरेको छ ।
वर्षा सुरु भएपछि बाली काट्ने काम नगर्न र भण्डारण गरिएको उपजसमेत सुरक्षित राख्न अनुरोध गरिएको छ ।
त्यस्तै, नदीकिनार, खोला तथा खोल्सा र चुरे फेदीका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ । वर्षाको अवधिमा खोला तर्ने, माछा मार्ने र दाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि पूर्ण रूपमा बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।
त्रिभुवन र कान्ति लोकपथमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
सम्भावित वर्षाका कारण मकवानपुरका मुख्य सडक तथा ग्रामीण सडकमा पहिरोको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरी र रात्रिकालीन यात्रा नगर्न आग्रह गरेको छ ।
त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौं जोड्ने छोटा मार्ग तथा ग्रामीण सडकमा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्नसमेत प्रशासनले अनुरोध गरेको छ । वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने र पहिरोले यातायात प्रभावित पार्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न भनिएको छ ।
प्रशासनले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका व्यक्ति र बिरामीलाई विशेष प्राथमिकतामा राखेर सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ । साथै, चौपाया र महत्त्वपूर्ण कागजातसमेत सुरक्षित राख्न आग्रह गरेको छ ।
यसैगरी सम्भावित विपतकाे जोखिम न्यूनीकरणका लागि जिल्लास्थित सबै स्थानीय तहलाई आफ्ना विपत् प्रतिकार्य संयन्त्र, स्वयंसेवक तथा राहत र उद्धार टोली तयारी अवस्थामा राख्न प्रशासनले भनेको छ । नयाँ पत्रिकाबाट



















प्रतिक्रिया दिनुहोस्