काठमाडौँ । यात्रु र उडानको चाप थेग्न नसकेपछि नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा संचालन गर्ने भएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संचारकर्मीहरुसँग देशभरको हवाई यातायातको चाप घटाउन पहिले काठमाडौं विमानस्थललाई २४ घन्टा संचालनमा ल्याउन लागेको बताए । ‘जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि काठमाडौं विमानस्थललाई २४ घन्टा संचालन गर्दैछौं,’ उनले भने ।

यसअघि ०७५ जेठमा पर्यटनमन्त्री रविन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा संचालन हुँदै आएको काठमाडौं विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म संचालनमा ल्याएका थिए । यो निर्णय भएको १० महिनापछि काठमाडौं विमानस्थलको धावनमार्ग रातको समयमा जीर्णोद्धार गर्ने ठेक्काको समय सुरु भएपछि पुनः उडान संचालनको समय घटेको थियो । त्यसपछि कोभिडका कारण लकडाउन लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल संचालन समय पनि खुम्च्याइएको थियो ।