हेटौंडा । निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलको चुनावी अभियानमा हिड्ने हेटौंडाका तीन जना कर्मचारीमाथि निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ ।

हेटौंडाका विभिन्न क्षेत्रका कर्मचारीहरू आचारसंहिताविपरित राजनीतिक दलको चुनावी अभियानमा हिडेको समाचार र उजुरीको आधारमा उनीहरूले कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । उनीहरु संग लिखित रुपमा स्पष्टीकरण सोधिएको छ । उनीहरूको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा आवश्यक कारवाहीका लागि पठाइने छ । त्यस्ता कर्मचारीहरूलाई निर्वाचनमा नखटाउने गरि हटाउने निर्णय समेत भएको छ ।

सामाजिक संजालमा राजनीतिक दलको प्रचार गर्ने कर्मचारीसंग पनि जवाफ मागिएको जनाइएको छ । स्रोतका अनुसार यसरी जवाफ मागिएकामा हेटौंडा उपमहानगरपालिका, वन निर्देशनालय, प्रदेश नीति तथा योजना आयोग लगायतका कार्यालयका कर्मचारी छन् ।

स्थानीयले मकवानपुरगढी गाउँपालिकाका केही कर्मचारी पनि चुनावी अभियानमा हिडिरहेको जानकारी दिएका छन् ।