हेटौंडा । निर्वाचन आयोगले शुक्रबार हुने मतदानका दिन पानी पर्नेबारे सबै निर्वाचन अधिकृतलाई सूचना पठाएको छ । जल तथा मौसम विज्ञान विभागले पानी पर्ने भनेकाले सोही अनुसार व्यवस्थापन गर्न सबै अधिकृतहरूलाई निर्देशन दिइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
उनले भने, ‘मौसमविद्हरुले चुनाव हुने दिन पानी पर्छ भनेका कारण त्यस कुरालाई आयोगले तुरुन्तै मध्यनजर गर्दै सबै मतदान अधिकृतहरूलाई सूचना पठाइसकिएको छ । सोही अनुसार मतदान केन्द्र निर्माणका लागि हामीले नगद रकम पनि पठाएका छौँ । त्यही रकमबाट उहाँहरुले त्रिपाल तथा पाल खरिद गर्नुहुनेछ । कतिपय विद्यालय वा सार्वजनिक भवनको छानामुनी मतदान केन्द्र निर्धारण गर्न भनेका छौँ ।’
कम्तिमा निर्वाचन सामग्री सुरक्षित हुने र मताधिकार रक्षा हुने तरिकाले व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए । यस्तै दुर्गम स्थानबाट मतपेटिका ढुवानीको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी दिएको अर्यालले बताए ।












प्रतिक्रिया दिनुहोस्