हेटौंडा । मोटरसाईकल दुर्घटनामा हेटौंडाका एक युवाको मृत्यु भएको छ । तिब्र गतिको मोटरसाईल स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा हेटौँडाका एकजना युवकको ज्यान गएको हो ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ नयनचोकमा भएको दुर्घटनामा हेटौंडा–१९ निवासी २० वर्षका विशेष दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी चितवनका अनुसार उनले अधिक गतिमा मोटरसाइकल चलाएका थिए । अधिक गतिका कारण नियन्त्रण भन्दा बाहिर मोटरसाइकल गई विपरित दिसाबाट आएको स्कुटरको समेत क्षतविक्षेत भएको छ । मृतकको घाटीमा स्कुटरको पांग्राले किचेर मृत्यु भएको देखिए पनि अनुसन्धानले त्यस्तो नदेखिएको चितवन ट्राफिकको भनाई छ ।

बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले सोमवार बेलुका पौने ९ बजे विपरित दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार भएका स्कुटर चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।