हेटौंडा । हेटौंडाका एक युवाले पेन्टिङबाटै न्याय मागेका छन । हेटौंडाका माधव सिलवालले सांकेतिक रुपमा पेन्टिङ बनाएर युवतीका लागि न्याय मागेका हुन ।

उनले जस्टिस फर सुस्मीता लेखेर पेन्टिङ बनाएका छन । उनले युवतीलाई न्याय दिलाउन सम्बन्धीत निकायलाई ध्यानाकर्षण गर्न पनि पेन्टिङ बनाएको बताए ।

आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको युवतीको भनाइ छ । बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी थिइन ।

हेटौंडा ४ निवासी सिलवाल मोडलिङ, पेन्टिङ र भ्लगिङ पनि गर्ने गरेका छन । उनी लामो समयदेखि पेन्टिङ गर्ने कलाकार पनि हुन । उनले बनाएको पेन्टिङ हेटौंडाको नाम चलेका होटलहरुमा राखिएको छ भने उनको पेन्टिङ धेरैको रोजाईमा पनि परेको छ । भक्ति मार्गमा लागेका माधव आफ्नो सिर्जनाको स्रोत इश्वरलाई ठान्छन ।