हेटौंडा । व्यावसायीक तथा सीप विकास तालिम केन्द्रका प्रमुख सहित १३ जना कर्मचारी एकै पटक विदामा बसेका छन । कार्यालयमा रहेका २४ कर्मचारी मध्ये १३ जना पर्यटन विदामा बसेका हुन ।

सार्वजनिक सेवा सुधार संघर्ष समितिका सचेत युवाहरुले आज हेटौंडामा रहेको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको छड्के अनुगमन गरेका थिए । अनुगमनका क्रममा अधिकांश कर्मचारीहरु पर्यटन बिदामा बसेको पाईएको छ ।

आर्थिक बर्ष २०७८÷७९ मा संचालित भएका तालिम तथा कार्यक्रमहरु लगभग पुरा भईसकेकाले एकै पटक सबै कर्मचारी बिदामा बसेको लेखा अधिकृत (छैठौं) डोरबहादुर खड्काले जानकारी दिए । नियमित चल्ने तालिम लगभग बैशाख महिनामै सकियो, उनले भने नियमित चल्ने तालिम बाँकी छैन ।

प्रदेश सरकारले कर्मचारीलाई आन्तरिक पर्यटनका लागि १० दिनको तलब सहित परिवार लिएर घुम्न जाने सुबिधा दिएकाले कर्मचारीहरु घुम्न गएको बताए । उनका अनुसार यो आर्थिक बर्षको बजेट यो आर्थिक बर्षको अन्त्य सम्म सक्नु पर्ने भएकाले कर्मचारी घुम्न गएको बताए । बागमती प्रदेशको अर्थ मन्त्रालयबाट खर्च निकासा भएर नै कर्मचारीहरु आन्तरिक भ्रमणमा गएको उनले बताए । जेठको २५ गतेदेखि भ्रमणको कार्यक्रम सुरु गरेको उनले जानकारी दिए ।

कार्यालयमा अस्थायी दरबन्दी सहित २६ जना रहेकोमा यहाँ हाल २४ जना कर्मचारीहरु कार्यरत रहेका छन । कार्यालय प्रमुख १ जना, लेखा प्रमुख १ जना, प्रशासन नायव सुब्बा १ जना, प्रशिक्षक ८ जना, सहायक प्रशिक्षक १० जना, कार्यालय सहयोगी २ जना, १ जना हल्का सवारी चालक र १ जना गणक कर्मचारी रहेका छन । जसमध्ये ७ जना अस्थायी कर्मचारी हुन् । १६ जना करार र एक जना लेखा प्रमुख स्थायी कर्मचारी हुन । यस कार्यालयले बागमती प्रदेशको ९ वटा जिल्लामा कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।

विकास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा लगानी गर्न बजेट अभाव भएको बारम्बार भनिरहने प्रदेश सरकार कर्मचारी, मन्त्री पोस्न र महङ्गा गाडि किन्नमै व्यस्त छ । आम नागरिकलाई ढाड सेक्ने गरि मुल्य बृद्धि गर्न र कर लगाउन आत्तुर रहने सरकार आम जनताले तिरेको राजस्व र करको दुरुपयोग गरेर मन्त्री र कर्मचारीलाई रकम बाढ्दै छ ।