हेटौंडा । हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित एउटा घरको दुई तलामा अनलाइन जुवाको अड्डा रहेको तथ्य फेला परेको छ ।
रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिएर सूर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नाम कम्पनी सञ्चालन गरेर अनलाइन जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले छापा मारेको थियो । अनलाइन जुवा चल्ने डेरामा छापा हान्दा ११ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका सबै जुवा खेल्नेहरु हुन् । प्रहरीले जुवा खेलाउने कम्पनीका सञ्चालकलाई भने पक्राउ गर्न सकेको छैन । डीएसपी कार्कीका अनुसार मुख्य अभियुक्त फरार छन् । अनुसन्धानकै क्रममा रहेकाले मुख्य अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ ।
प्रहरीले हेटौँडा–९ लामसुरे बस्ने २३ वर्षीय निशान आचार्य, हेटौँडा–४ कमलडाँडा बस्ने २४ वर्षीय राजिव गौतम, ११ नम्बर वडा बस्ने २७ वर्षीय मधुकर बानियाँ, १४ नम्बर वडाको चुरियामाई बस्ने २४ वर्षीय निमा थिङ, १२ नम्बर वडा बस्ने २३ वर्षीय विकास बल, मनहरी गाउँपालिका–४ बस्ने २० वर्षीय जोसिल खत्रीलाई पक्राउ गरेको हो ।
गोरखा पालुङटार नगरपालिका–७ का २२ वर्षीय डुलास तामाङ, पालङटारका २० वर्षीय तिकमान तामाङ, पालङटारकै २१ वर्षीय राजु तामाङ, पालुङटार–८ का २५ वर्षीय अमोश तामाङ, बाराको निजगढ नगरपालिका–४ का २० वर्षीय अर्पण खड्का पक्राउ परेको डीएसपी कार्कीले जानकारी दिए । उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १० थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर, ४ थान राउटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । हेटौँडामा विगतदेखि नै अनलाइनबाट जुवा खेलाउने गिरोह सक्रिय थियो । तर, प्रहरी जुवा अड्डासम्म पुग्न सकेको थिएन । मकवानपुर प्रहरीले सम्भवतः पहिलो पटक अनलाइनबाट जुवा खेल्ने यति धेरै जनालाई पक्राउ गरेको हो । शिलापत्रबाट












प्रतिक्रिया दिनुहोस्