हेटौंडा । प्रदेश नम्बर–१, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा बिहान ६ बजेदेखि मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा पनि बिहानैदेखि वर्षा भईरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा देशभर आउँदो बुधबारसम्म पानी पर्ने उल्लेख छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।