हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ उपमहानगरपालिका कार्यालय पछाडीको जग्गामा मुख्यमन्त्री कार्यालयको सभाहल निर्माणको काम लामो समय देखि अलपत्र परेको छ । सक्नुपर्ने अवधि सम्म पनि भवन निर्माणको जग मात्र हालिएको छ ।

निर्माण व्यावसायीसंगको मिलेमतोमा भवन डिभिजन कार्यालय मकवानपुरका प्रमुख सहितका केही कर्मचारीले ठेकेदारलाइ एक करोड ४ लाख २२ हजार रुपैयाँ हस्तान्तरण गरेपनि काम गराउन कुनै चासो दिएका छैनन् ।

प्रदेश सरकारका लागि सुविधा सम्पन्न सभाहल निर्माण गर्ने परिकल्पनाका साथ तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले सभालको शिलान्यास गरेका थिए । त्यतीबेला निर्माण अवधि भन्दा अघिनै काम सक्ने प्रतिवद्धता जनाएका निर्माण व्यावसयी पनि मोविलाइजेसन र जग हालेको रकम लिएपछी फिर्ता आएका छैनन् ।

मुख्यमन्त्री कार्यालयको सुविधा सम्पन्न सभाहल निर्माणका लागि भवन डिभिजन कार्यालय मकवानपुरसंग कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा संझौता गरिएको थियो । निर्माणको काम सक्नुपर्ने अवधि २०७९ साल बैशाख १९ गते सम्पन्न गर्ने गरी संझौता गरिएको थियो । तर, त्यतीबेला सम्म पनि जग हाल्ने काम मात्र भएको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

संझौता सकिने अवधि सम्म पनि सभाहलको जग मात्र हाल्ने निर्माण कम्पनिलाई भवन डिभिजनका प्रमुखले कार्बाही गर्नुको सट्टा उन्मुक्ति दिएका छन् । ठेकेदार सम्पर्कमा नआउँदा सभाहलको काम अलपत्र परेको हो । वैशाख १९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी संरक्षण सेभ जेभीले २०७७ कात्तिक १७ गते ठेक्का सम्झौता गरेको थियो ।

वाग्मती प्रदेश सरकारले ५ करोड २६ लाख रुपैयाँको लागतमा सभाहल निर्माण गर्न ठेक्का दिएको थियो। कुल लागतको २० प्रतिशत भुक्तानी लिएको निर्माण कम्पनीले भने निर्माणको काम भने थोरै मात्र गरेको छ ।

हेटौंडा उपमहानगरको खाली जमिनमा ४ सय जनासम्म अट्ने सुविधासम्पन्न सभाहल निर्माण गर्न करि दुइ वर्ष अगाडि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नु भएको थियो । अहिले सभाहलमा निर्माण स्थलमा घाँस उम्रेर घाँसे मैदान भएको छ । जनपत्रबाट