हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालन अनुमति (रुट परमिट) नभएका अटो र मयुरीलाई आज शुक्रबारदेखि कारबाही सुरु गरिने भएको छ ।

हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले बिहीवार एक औपचारिक कार्यक्रममार्फत् हरियो स्टिकर टाँस गरेसँगै आजदेखि नगरभित्र रुट परमिट नभएका अटो र मयुरीमा कारबाही सुरु गरिने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा भएको कार्यक्रममा मेयर लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, उपमेयर राजेश बानियाँ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले नगरभित्र सञ्चालन अनुमति पाएका अटो र मयुरीमा हरियो स्टिकर टाँस गरेका थिए ।

अब नगरभित्र हरियो स्टिकर टाँसेका अटो र मयुरीले मात्रै सञ्चालन अनुमति पाउने छन् । ट्राफिक प्रहरीले बिहीबार एक दिनमा ६९ वटा अटो र मयुरीमा स्टिकर टाँस गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

हरियो स्टिकर नगरभित्र सञ्चालन अनुमति पाएका अटो र मयुरी भनेर बुझिन्छ । स्टिकर नभएका अर्थात् नगरभित्र सञ्चालन अनुमति नभएका अटो र मयुरी नगरभित्र सञ्चालन गर्न नपाउने ट्राफिक प्रहरी प्रमुख थापाले जानकारी दिए । थापाले आज शुक्रबारदेखि रुट परमिट नभएका अटो र मयुरीलाई जाँच गरेर कारबाही थालिने बताए । हेटौंडा बजारमा देखिएको सवारीसाधनको चापको व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा तीन पांग्रे सवारीसाधनलाई व्यवस्थित गर्न लागिएको उपमहानगरले जनाएको छ । तीन पांग्रेअन्तर्गत् हेटौंडामा अटो, मयुरी छ्यापछ्याप्ती छन् । उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार अन्य स्थानीय तहको रुट परमिट भएका अटोहरुलाई नगरको चार दिशासम्म आउन दिने भएको छ ।

पूर्वी क्षेत्रका लागि क्याम्पाडाँडा वरपर, पश्चिमका लागि नवलपुर, उत्तरका लागि सामरी पुल र दक्षिणका लागि कर्रा पुल पारीसम्म आउन दिनेबारे छलफल भइरहेको न्यौपानेले जानकारी दिए । २०७६ मा नगरभित्रको रुट परमिट नदिन परिपत्र गरेपनि अटो व्यवसायीहरुले जिल्लाभरको परमिट बनाएर चलाउँदै आएका छन् । २०७६ साल अगावै जिल्लाभर परमिट लिएकाहरु हेटौंडामा चल्न पाएपनि त्यसपछि परमिट लिएकाहरुमाथि कारबाही हुने ट्राफिक प्रमुख थापाले बताए ।कतिपय व्यवसायीहरुले बारा र पर्साको रुट परमिट लिएर अटो खरिद गरेपछि पुनः प्रतिलिपि परमिट बनाउँदा सेटिङमा मकवानपुरको परमिट पनि थप गर्न लगाएको जनाइएको छ । ‘२०७६ पुसपछि जुन स्थानको रुट परमिट लिए पनि नगरभित्र सञ्चालन गर्न नपाइने बताए । २०७६ पुस अगाडि लिएको हकमा चलाउन दिन्छौं’, थापाले भने ।

नगरमा सडक क्षमता भन्दापनि बढी अटो र मयुरी सञ्चालन भइरहँदा यहाँका सडकमा दुर्घटनाको जोखिमसँगै पार्किङ व्यवस्थापनमा चुनौती भइरहेको छ । २०७६ साल पुसको ७ गते हेटौंडा उपमहानगर क्षेत्रमा थप तीन पांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरिएको थियो । तर, बाहिरी जिल्लाको रुट परमिटले हेटौंडामा अटो र मयुरी निर्वाध सञ्चालन भइरहेका छन् । हेटौंडाको बीच बजारबाट दुईवटा राष्ट्रिय राजमार्ग पर्नेे भएकाले वर्षौदेखि साँघुरा सडक समस्या बन्दै आएका छन् । स्टिकर टाँस कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सरकारले बनाएका कानुन सबैले मानेर अघि बढ्नुपर्नेमा जोड दिइन् । स्टिकर टाँससँगै नियमित अनुगमनलाई उपमहानगरले निरन्तरता दिने लामाले बताइन् । अटो व्यवसायलाई व्यवस्थित गर्न व्यवसायीहरुले तिरेको करबाट अक्षय कोष बनाउने लामाले घोषणा गरिन् ।

हेटौंडा नगरमा सवारी सञ्चालनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरिएको उपप्रमुख राजेश बानियाँले बताए । उनले अटो र मयुरी व्यवसायीहरुको हकअधिकारमा उपमहानगर सदैव साथ र सहयोगमा रहेको भन्दै केही विद्यमान समस्या हटाउन सबैले बुझ्नुपर्ने बताए । अटो र मयुरी व्यवसायीहरुको तर्फबाट बोल्दै नेपाल अटो ईरिक्सा व्यवसायी संघका अध्यक्ष भिमप्रसाद गौतमले उपमहानगरबाट सुरु गरिएको अभियान अत्यन्तै राम्रो भएको बताए ।

कार्यक्रमको अबसरमा अनुशासित र कानुन अनुसार अटो र मयुरी सञ्चालन गरेको भन्दै इन्दिरा सापकोटा र कृष्णप्रसाद दुलाललाई सम्मान गरिएको छ । कार्यक्रममा उपमहानगरका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । साझा कुराबाट