हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र, डिभाईन युथ क्लव नेपाल र विद्त समाज नेपालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर भएको हो ।

प्रस्तावित श्री कृपालु अस्पताल हटिया १७ जुरेथुममा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा हाडजोर्नी तथा नशा रोग, आन्तरिक चिकित्सा र दन्त रोग सम्बन्धी परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षण पश्चात सेवाग्राहीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म भएको स्वास्थ्य शिविरमा सेवाग्राहीहरुले लाभ लिएका थिए । शिविरमा बृद्ध उमेरका सेवाग्राहीको संख्या उल्लेख्य रहेको थियो । शिविरमा सहभागि मध्ये दात सम्बन्धी समस्या भएका सेवाग्राहीले सेवा लिएका थिए ।

निःशुल्क स्वास्थ्य शिविरको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी थिइन् । उनले शिविर संचालन गरेकोप्रति आयोजकलाई धन्यवाद पनि दिइन् ।

राधा माधव समिति नेपाल सदस्य राजेन्द्र सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष उद्धव सत्याल, सरोकारवालाहरु लगायतकाको उपस्थिती रहेको थियो ।