हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेको पुरानो बिद्यालय भूटनदेवी माविको सटर प्रकरणले अहिले बजार तातेको छ । ठेकेदारले सस्तोमा लिएर उपभोक्ता संग महङगो भाडा असुलेका छन् । धरौटी रकममा समेत ठेकेदारले २० लाख बढी असुलेको तथ्याङक छ ।

बिद्यालयले सटर कबलका लागि सूचना आव्हान गर्दा भैरवरोड र पारिजातपथको प्रति सटर न्यूनतम मुल्य फरक फरक तोकेपनि सटर कबल भाडामा लगाउने बेलामा एकमुष्ट हिसावले काठमाडौंको पाख्रिन निर्माण सेवालाई ठेक्का दिएको देखिन्छ ।
स्रोतका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष तथा भूटनदेवी मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्वा दोर्जेलामाको निकट व्यक्तिलाई ठेक्का पारिएको उल्लेख छ । कमिशन तथा आर्थिक चलखेल भएको आशंका आम जन समुदायले गरेका छन् । केही समय अघि हेटौंडाका सचेत युवाहरुले पनि भूटनदेवी माविको आर्थिक हिसाव किताव मागेको तर बिद्यालयले नदिएको गुनासो गरेका थिए । उनीहरुले बिद्यालय पारदर्शी हुनुपर्ने सामुदायिक बिद्यालय भएकाले आम उपभोक्ताको हैसियले बिद्यालयको आर्थिक हिसाव किताव मागेको बताएका थिए ।

भूटनदेवी माविको साउन ५ गते प्रकाशित सूचना अनुसार ४० वटा सटरको एकमुष्ट ३ लाख ८९ हजार ९४० रुपियाँमा पाख्रिन निर्माण सेवा काठमाडौंलाई दिईएको छ । बिद्यालयले प्रति सटर ९ हजार ७४८ रुपियाँका दरले प्रति सटर भाडामा दिईएको छ भने ठेकदारले २२ हजारदेखि १० हजार ५ सय सम्ममा ठेक्कामा लगाएको देखिन्छ । औषतमा हेर्दा बिद्यालयले प्रति सटर ९ हजार ७४८ मा ठेकदारलाई दिइएको र १३ हजार ३७५ भाडामा लगाईएको देखिन्छ । प्रति सटर ३ हजार ६२६ रुपियाँ बिद्यालयलाई घाटा भएको देखिन्छ । त्यस्तै नयाँ सटर लिनका लागि ४० वटा सटरको प्रति सटर ५० हजारका दरले २० लाख धरौटी रकम बिद्यालयलाई घाटा भएको देखिन्छ ।

भूटनदेवी माध्यामिक बिद्यालयको ७३ वटा सटर मध्ये ३० वटा सटर सार्वजनिक खरिद ऐन विपरित टेण्डन नै नगरि भाडामा लगाइएको छ भने ४० वटा सटर काठमाडौंको पाख्रिन निर्माण सेवालाई दिइएको छ । ३ वटा सटर भूटनदेवी माध्यामिक बिद्यालयका शिक्षक÷शिक्षिकालाई दिने निर्णय भएको बिद्यालयका प्रधानाध्यापक माधव प्रसाद दाहालले जानकारी दिए ।

भूटनदेवी माविले निर्माण गरेको भैरव रोड तर्फको ३० वटा र पारिजात तर्फको १० वटा गरी एकमुष्ट ४० वटा सटरकबल भाडाका लागि असार २३ गते सूचना प्रकाशित गरेको थियो । सूचना अनुसार भैरव रोडको प्रति सटर न्यूनतम रकम मासिक ७ हजार रुपियाँ र पारिजात पथ अन्र्तगतको १० वटा सटर सटर न्यूनतम मासिक १५ हजारका दरले बडाबढको लागि सूचना निकालेको थियो ।

४० वटा सटरकबल भाडामा लिनका लागि पशुपति सप्लायर्स, शुभलक्ष्मी ट्रेडर्स, पाख्रिन निर्माण सेवा र दाजुभाई स्विट्स एण्ड फाष्टफुडले भाडामा लिन इच्छा देखाएकोमा बडाबढमा पाख्रिन निर्माण सेवालाई सटर कबल भाडामा दिइएको बिद्यालयले जनाएको छ । भैरव रोडको पूर्व र पारिजात पथ पश्चिम तर्फको ४० वटा सटर पाख्रिन निर्माण सेवाले ३ लाख ८९ हजार ९४० मा कबोल गरेको थियो ।

मूल्याङ्कन समितिको सिफारिस तथा बिद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सार्वजनिक खरिद ऐन २०६३ को २७ उपदफा (२) र (३) को प्रयोजनार्थ सटरकवल भाडामा लगाउने निर्णय भएको थियो ।

यसअघिको ३० वटा सटरको भाडा वापत कर सहित प्रति सटर १४ हजार ६ सय ३० रुपियाँ लिइएको छ । प्रत्येक दुई बर्षमा करार सम्झौंतामा १५ प्रतिशत थप गरेर भाडा लिने गरिएको छ । ७३ वटै सटरकबल भाडामा लाग्दा बिद्यालयलाई मासिक रुपमा १० लाख माथि आम्दानी हुने बिद्यालयका प्रअ दाहालले जानकारी दिए ।
२०७९ साउन सम्म सटर भाडा वापत बार्षिक ५२ लाख ६६ हजार आम्दानी गर्दै आईरहेको बिद्यालयले भदौंबाट ७३ वटा सटर भाडावापत बार्षिक रुपमा करिव १ करोड २० लाख रुपियाँ आम्दानी गर्नेछ ।

संगै पर्खाल जोडिएको आधुनिक माविले दशकौं देखि सामुदायिक बिद्यालयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएपनि यति धेरै आम्दानी भएको बिद्यालयले सोचे जस्तो शिक्षामा फड्को मार्न भने सकेको छैन । प्राबिधिक बिषय थप गर्दै अगाडि बढेपनि भूटनदेवी माविले सिमित स्रोत र साधन भएको आधुनिक माविको तुलनामा सन्तोषजनक नतिजा दिन नसकेको सर्वबिदितै छ ।

बि.सं. २०१६ साल बैशाखमा स्थापना भएको यस बिद्यालय जिल्लाकै पुरानो र धनी बिद्यालय मध्ये एक हो । अहिले बिद्यालयको भवन संरचना भन्दा बरिपरि सटर संख्या धेरै रहेको छ भने सर्वसाधारणका लागि खुल्ला रहेको चौर अहिले बन्द छ । कुनै समय सर्वसाधारणले जिल्लामा आयोजना हुने कार्यक्रम गर्ने खुल्ला चौर अहिले बन्द गरिएको छ । बिद्यालयको आम्दानी हुनु र बिद्यालयको आर्थिक सबल हुनु आफैंमा उत्कृष्ट पक्ष भएपनि सर्वसाधारणलाई खुल्ला राख्नुपर्ने चौर मासेर सटर बनाईनु र सटर संरचना बनाउन तथा भाडामा लगाउने बहानामा कुनैपनि पार्टीले कार्यकर्ता पोस्ने र भोट बैक भने कदापी बनाउन हुँदैन ।