हेटौंडा । हेटौंडा ४ कान्तिराजपथमा रहेको बुद्ध मेडिकलले गलत औषधि दिदा बिरामीको अवस्था बिग्रिएको छ । मेडिकलले चिकित्सकले जाँच पश्चात लेखेको औषधि भन्दा फरक औषधि दिएको हो ।

हेटौंडा १० का रामशरण कार्कीको ५ बर्षीय छोरी रिसिका कार्कीलाई छालाको एलर्जी भए पश्चात उपचारको क्रममा चिकित्सकले प्रेसक्रिप्सनमा लेखेको भन्दा फरक औषधि दिएको बुझिएको छ । रिसिकाको हात र मुखमा सामान्य ३ वटा घाउ तथा हल्का ज्वरो आएपछि उपचारका लागि साउन ३१ गते ४ बजे जाँच गराउनका लागि परिवारले मेडिकल लगेका थिए ।

बुद्ध मेडिकलमा छाला सम्बन्धी डाक्टर बुद्धिराज पाण्डेले बिरामीको जाँच गरेर ५ दिनपछि आउँन भन्दै तीन थरिका औषधि एक हप्ताको लागि लेखिदिएका थिए । औषधि खान थालेको पर्सिपल्टबाट शरिरमा एलर्जीको दाना निस्कन थाल्यो, बिरामीका बाबुले भने छोरीको जिउ पुरै सुन्नियो, जिउ पुरै चिलायो, निलो रगत जमेको जस्तो भयो ।

भर्दौ ३ गते बुद्ध मेडिकलमा कार्की छोरीको उपचार गर्न पुनः पुगे । मेडिकलवालाले डाक्टर बुद्धिराज अन्तै गएको जानकारी दिएपछि उनले स्वयम् डाक्टरलाई सम्पर्क गर्दा डाक्टर ४ बजेपछि मात्रै आउने जानकारी पाएपछि उनले छोरीलाई धेरै गाह्रो भएकाले हेटौंडा अस्पतालको एमर्जेन्सीमा भर्ना गराए । हेटौंडा अस्पतालका डाक्टरले खाने औषधि लेखिदिए र बिरामीको अवस्था हेरेर दुईवटा सुई पनि लगाईदिए ।

हेटौंडा अस्पतालमा छाला सम्बन्धी डाक्टर बोलाउन आग्रह गर्दा अर्को दिन बिहान १० बजे ओपिडिमा आएर देखाउनु भन्दै अस्पताल पन्छियो । जिउ चिलाउने र डाबर आउने भएपछि चिन्तित बनेका कार्कीले छोरीको उपचारमा यसअघि संलग्न बुद्ध मेडिकलका प्रतिनिधिलाई सम्पर्क गर्दा डाक्टर सन्चो हस्पिटल गएको जानकारी पाएपछि उनले छोरीलाई लिएर सन्चो हस्पिटल नै पुगेका थिए ।

छोरी, औषधि सहित पुगेका कार्कीले डाक्टर भेटेपछि डाक्टर उनी संग रिसाएका थिए । डाक्टरले लेखेको औषधि भन्दा फरक औषधि प्रयोग गरेको भन्दै उनी कार्की संग रिसाएका हुन् । बुद्ध मेडिकलले नर्मल एन्टिवाइटिक भन्दै डाक्टरले लेखेको भन्दा फरक औषधि दिएको खुलासा भएको छ । बिरामीको हाल चितवनमा उपचार भईरहेको छ ।

यता बुद्ध मेडिकलका संचालक बुद्धराम श्रेष्ठले मेडिकलमा डाक्टरले लेखेको औषधि नभएको र उस्तै प्रकृतिको औषधि दिएको बताएका छन् । उनले फरक प्रकृतिको औषधि दिनु गल्ती भएको र आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता जनाए ।

यस्तै डाक्टर बुद्धिराज पाण्डेले पनि टेलिफोन संवादमा उस्तै प्रकृतिको एन्टीवायोटिक भएकाले खासै असर नगर्ने बताए । उनले भुलबस भएकाले अब यस्तो कार्य दो¥याउन नहुने बताए ।

यता नेपाल औषधि व्यवसायी संघ मकवानपुरका महासचिव संघर्ष गुरुङले फरक प्रकृतिको औषधि दिनु गलत भएको बताउँदै आगामी दिनमा मेडिकलले औषधि दिदा डाक्टरले लेखे बमोजिम दिन सुझाव दिए । उनले डाक्टरले लेखेभन्दा बैकल्पिक औषधि नदिन औषधि व्यवसायीलाई आग्रह गरे ।

डाक्टरले लेखेको भन्दा फरक प्रकृतिको औषधिले मानवको ज्यान समेत जान सक्छ । स्वास्थ्य मानिसको सबैभन्दा ठुलो र संवेदनशील कुरा भएकाले यस्तो बिषयमा कसैलेपनि हेलचेक्राई गर्न हुँदैन । औषधि दिदा सम्बन्धीत रोगको डाक्टरले लेखेको आधारमा मात्रै दिनुपर्छ । बेलैमा सचेत नभए मानविय क्षति हुन सक्छ, यस्तो संवेदनशील बिषयमा औषधि व्यवसायी पनि बेलैमा सचेत हुन जरुरी छ ।