हेटौंडा । सामाजिक संजालबाट ६७ प्रतिशत गलत सूचना प्रवाह हुने गरेको छ । सामाजिक संजाल फेसबुक, मेसेन्जर, टिकटक, ट्वीटर, इन्स्टाग्राम, युट्युब, भाइबर, वाट्सयाप मार्फत ६७ प्रतिशत गलत सूचना प्रवाह हुने गरेको हो ।

हेटौंडामा फ्रिडम फोरमको आयोजना तथा पत्रकार महासंघ मकवानपुरको समन्वयमा बिहिवारदेखि झुटा समाचार र दुस्प्रचारबारे २ दिने कार्यशाला प्रशिक्षणमा यस्तो जानकारी दिईएको हो । पत्रकारितामा कुसमाचार र दुस्प्रचारले पार्ने प्रभावबारे जानकारी दिने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो ।

नेपालमा ९२ प्रतिशत सामाजिक संजाल प्रयोग गर्नेले गलत सूचना पाईरहेको अमेरिकाकी पत्रकार बिषयकी शिक्षिका अस्टिन लिन्डाले बताइन् । सेन्टर फर रिसर्चका अनुसार ८० प्रतिशत फेकबुक प्रयोगकर्ता र ४८ प्रतिशत युट्युब प्रयोग कर्ताले गलत सूचना पाईरहेको तथ्य छ । तथ्य अनुसार नेपालमा ९४ प्रतिशत युट्युव, ९२ प्रतिशत फेसबुक, ६८ प्रतिशत टिकटक र १ प्रतिशत ट्वीटर प्रयोग कर्ता छन् । सामाजिक संजालमा गलत सुचना ७० प्रतिशत चाडै फैलने गरेको छ ।

प्रशिक्षणमा मकवानपुर र बाराका सञ्चारकर्मीहरुको सहभगिता रहेको थियो । दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा गलत सुचना समाचार र दुस्प्रचारका विषय, झुटा समाचारका उत्पति, उत्प्रेरणाजस्ता विषय, सामाजिक सञ्जालमा राखिएका सामाग्रीले पार्ने प्रभाव जस्ता विषयमा कार्यशाला गरिएको फ्रिडम फोरम मिडिया अनुगमन अधिकृत नानु खड्काले बताइन् ।