हेटौंडा । मकवानपुरको हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । आइतबार राती हेटौंडा–१२ सिग्रेनी बस्ने २६ वर्षीय विरन घिसिङमाथि स्थानीय ३८ वर्षीय जन सागर व्लोनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार खुकुरी प्रहारबाट घिसिङ गम्भीर घाइते भएका छन् । घर नजिकै रहेको चौतारामा बसिरहेका उनलाई पुरानो रिसीबीको कारण ब्लोनले खुकुरी प्रहार गरेको प्रवक्ता कार्कीले बताए ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका घिसिङको बायाँ पन्जामा गहिरो चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी वि एण्ड वि काठमाण्डौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने ब्लोनलाई खुकुरी र खुडा सहित नियन्त्रण लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।