हेटौंडा । हेटौंडा २ मा रहेको घाँसीकुवा संरक्षण गर्नका लागि सरसफाई तथा बृक्षारोपण गरिएको छ । कुवा वरिपरि रहेको झाडी सरसफाई तथा कुवालाई संरक्षण गर्नका लागि बृक्षारोपण गरिएको हो ।

घाँसीकुवा संरक्षण समिति हेटौंडा २ को आयोजनामा भएको बृक्षारोपणमा लप्सी, अमला, बेल, निम, फलफुल तथा फुलका बिरुवाहरु रोपणा गरिएको थियो । वन कार्यालय मकवानपुरले बिभिन्न जातको बिरुवाहरु उपलब्ध गराएको थियो ।

पछिल्लो समय पानीको स्रोतहरु मसिदै जाँदा भबिष्यमा पानीको अभाव पर्ने भन्दै सरोकारवालाहरुले पानीको कुवा, इनार तथा पानी आउने स्रोतहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । यहाँका पुराना स्थानीयवासीका अनुसार २०११ सालदेखि पिउनको लागि हेटौंडाको बुद्धचोक सम्मका स्थानीयले यहाँको कुवाको पानी पिउने गरेको भनाई छ । पिउने पानीको धाराको व्यवस्था नहुँदा यहाँकै पानी पिउने तथा लुगाधुने र नुहाउनको लागि प्रयोग गर्ने गरिएको स्थानीयले बताए ।

बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथीका रुपमा बोल्दै वनस्खण्डी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भवसागर श्रेष्ठले वनस्खण्डी सामुदायिक वन क्षेत्र भित्र रहेको ऐतिहासिक घाँसीकुवा क्षेत्रलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताए । उनले कुवा वरिपरि गरिएको बृक्षारोपणले भू संरक्षण तथा वन व्यवस्थापनको समेत काम भएको उल्लेख गरे । उनले वन समुहले कुवाको संरक्षण गर्नका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै बिशेष अतिथीका रुपमा हेटौंडा उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य इन्द्र प्रसाद रिजालले पुराना दिन स्मरण गर्दै गोठालो जादा र आमाहरु जंगल जाँदा घाँसीकुवाको पानी पिउने गरेको बताए । कुवाको महत्वबारे नयाँ पिढीलाई जानकारी दिर्दै यसको संरक्षणमा उनीहरुको पनी सहभागिता गराउनुपर्नेमा उनले जोड दिए । उनले नमुना पार्ककै रुपमा यसको विकास गर्दै कुवा संरक्षण गर्नपर्ने बताए ।

त्यस्तै स्थानीय लक्ष्मी प्रसाद लामिछानेले घाँसीकुवा हेटौंडाको इतिहास संगै जोडिएको बताए । उनले विगतमा बुद्धचोकदेखिका स्थानीयवासी यस कुवामा पिउने पानी लिन आउने गरेको बताए । सबै मिलेर कुवाको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

बृक्षारोपण कार्यक्रममा स्थानीय गोपाल राज भट्टराई, नकुल थापामगर, सन्तोष रानामगर, ललन साह, संगिता कार्की, अर्जुन स्याङतान, नवराज श्रेष्ठ लगायतकाको सक्रिय सहभागिता रहेको थियो ।