हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसले आज पत्रकार सम्मेलन गर्दै आफ्ना गतिबिधिहरु सार्वजनिक गरेको छ । क्याम्पसले हाल संचालनमा रहेका कक्षा, तह र बिषयहरु, बिद्यार्थी संख्या, नतिजा, मानव संशाधनको अवस्था, आर्थिक पक्ष लगायतका बिषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

२०३७ सालदेखि सञ्चालित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्व विद्यालय बनाउने तर्फ आवश्यक पहल भईरहेको क्याम्पस प्रमुख डा. शंकर उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी दिए । विद्यार्थी संख्या धेरै, विषय शिक्षण पनि धेरै रहनुका साथै ६ जना पिएचडी गरेका प्राध्यापक रहेकाले क्याम्पसलाई अब विश्व विद्यालय तर्फ लैजानुपर्ने उनको धारणा छ ।

क्याम्पसमा प्लस टु, विविएस, विए, विएड, विएस्सी, एमविएस, एमए, एमएड तहहरु रहनुका साथै यसैवर्ष देखी शिक्षा संकाय अन्र्तगत बिआइसीटीइ कार्यक्रम सञ्चालन गरिएको प्रमुख उपाध्यायले बताए । वार्षिक ६ हजार भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेको मकवानपुर क्याम्पसबाट उत्कृष्ट भएका (नेपाल टपर) विद्यार्थीहरुको नाम सार्वजनिक गरेको छ । नेपाल टपरहरुमा मनिषा लुइँटेल बिबिएम सातौं सेमेस्टर
(दोस्रो स्थान), बिबिएम आठौँमा (तेस्रो स्थान), पुष्पा दुलाल बिबिएम सातौँ सेमेस्टर (दोस्रो स्थान), बिबिएम आठौंमा (तेस्रो स्थान), प्रजिता सुवेदी बिबिएम आठौं सेमेस्टरमा (दोस्रो स्थान), समीक्षा साप्कोटा बिबिएम तेस्रो सेमेस्टरमा (दोस्रो स्थान) रहेको क्याम्पसले उल्लेख गरेको छ ।

क्याम्पसमा ९ जना सहप्राध्यापक, ५२ जना उपप्राध्यापक, ९ जना सहायक प्राध्यापक, आंशिक प्राध्यापक ७ जना, कोर्स करार ४ जना गरी ८१ जना प्राध्यापकहरुले अध्यापन गराइरहेका छन् । समुदायबाट सञ्चालित नेपालको ठुला सामुदायिक क्याम्पसहरु मध्येमा पर्ने मकवानपुर क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको क्युएए सर्टिफिड क्याम्पस हो । क्याम्पसले आव २०७९÷०८० मा २४ करोड ११ लाख ९० हजार १७० रुपैयाँको अनुमानित आयव्यय सार्वजनिक गरेको छ ।