हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका दिपेन्द्र चन्द ठकुरीले स्वतन्त्र रुपमा लौरो चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार ठकुरीले लौरो चुनाव चिन्ह लिएर चुनाव लड्न लागेका हुन् ।

बा आमालाई टेकाउने, भ्रष्टहरुलाई सेकाउने मुल उद्देश्यका साथ ठकुरी जनताको सेवा गर्न चुनावी मैदानमा होमिन थालेका हुन् । स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियानमा जोडिएर अगाडि आएका उनले जनताको सेवक भएर सेवा गर्ने इच्छा भएको बताए । स्वतन्त्र सरकार निर्माण गरौ, भ्रंष्टहरुलाई बिदाई गरौं भन्ने मुल नाराका साथ देशैभरबाट अहिले स्वतन्त्र अभियानमा युवाहरुको लहड नै लागेको छ । स्थानीय तहको निर्वाचनमा काठमाडौंमा वालेन्द्र साह र धरानमा हर्क साम्पाङले स्वतन्त्र रुपमा चुनाव जितेपछि राजनीतिक दलबाट दिक्क र आजित भएका जनताले स्वतन्त्र युवालाई देश बनाउने जिम्मा दिन युवा नेतृत्वको आव्हान गरिरहेका छन् ।

नीति निर्माण तहमा सक्षम युवा नेतृत्वको आवश्यकता भएको भन्दै ठकुरीले अब उही दल र उही नेतालाई बिदाई गर्दै युवालाई चुन्न मकवानपुरवासीलाई आग्रह समेत गरे ।

म मालिक होइन, जनताको सेवक हुँ । उनले उही राजनीतिक दल र उही पार्टीलाई बर्षौदेखि भोट दिएर जिताएपनि व्यवस्था फेरियो तर जनताको अवस्था सधैं उस्तै रहेकोले अब युवाले जनताको लागि काम गर्ने भएकाले आफुले स्वतन्त्र उम्मेद्वारी मार्फत जनताको माझ जान लागेको बताए ।

सार्वजनिक सेवा सुधार संघर्ष समिति मार्फत उनले हेटौंडा अस्पतालको सेवा सुधार, सामाजिक क्षेत्रको बेतिथी, सार्वजनिक बिकृतिका बारेमा आवाज उठाउँदै आएका छन् । उनले हेटौंडा उपमहानगरभित्र रहेका नीजि तथा सामुदायिक बिद्यालय, क्याम्पसमा भएको शौचालय, खानेपानीको अवस्था, बिद्यार्थीको अवस्थाबारे पनि चासो व्यक्त गरेका थिए । उनले आम जनता संग जोडिएको खानेपानी व्यवस्थापन बोर्ड, मालपोत कार्यालयमा पनि अनुगमन गरेर सेवा सुधारका लागि पहल गरेका थिए ।

२०३२ सालमा हेटौंडामा जन्मेका ठकुरी सामाजिक अभियानमा सक्रिय युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व पनि हुन् । उनी खेल प्रेमी र मकवानपुरवासीले रुचाएका व्यक्ति पनि हुन् ।