हेटौंडा । हेटौंडाकी एक बालिकालाई साउथ इण्डियन हिरोइन रश्मिका मन्दनाले भेट्न खोजेको भन्ने विषय केही दिन अघिदेखि भाइरल भइरहेको छ । युकेजीमा पढ्ने हेटौंडाकी ५ वर्षकी बालिका अहिले नेपालसँगै भारत अनि अन्य देशमा समेत भाइरल भएकी छन् ।

केही समयअघि हिट भएको दक्षिण भारतीय चलचित्र पुष्पाको सामे सामेु बोलको गीतमा सामूहिक नृत्य गर्दा ती बालिका पनि संलग्न थिइन् । त्यसैक्रममा लिइएको भिडियो अहिले भाइरल भएको हो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा गएर अन्तर्वार्ता लिनेहरूको भीड लागेको छ भने विद्यालयमा पनि पुगेका छन् । ती बालिकाको उमेर सानै भएकाले नकारात्मक असर पर्न सक्ने भएको हुँदा उनलाई भेट्न नआइदिन समेत परिवारले अनुरोध गरेको छ । तर त्यो कुरो युट्युबर, पत्रकारले मात्र होइन नेताजीहरूले पनि टेरेका छैनन् ।

त्यसो त अहिले उनलाई राजनीतिक दलका उमेदवारलेसमेत प्रचार गर्ने माध्यम बनाएका छन् । राप्रपाका उमेदवार दिपक सिंहले उनको विद्यालयमै गएर कुराकानी गरेको भिडियो र नाचेको बेलासँगै उभिएको भिडियो पनि भाइरल भएको छ । एउटा केही कुरालाई पायो भने त्यसलाई बढाइ चढाइ गर्न केही युटुब च्यानल काफी छन् । युटुबसँगै उनको समाचार मूलधारका सञ्चार माध्यमले पनि प्राथमिकता दिएर छापे । मूलधारका टीभीहरूले पनि उनी र उनलाई भेट्न खोज्ने सेलिब्रेटीको भनाइ राखेर रिपोर्ट बनाएका छन् ।

हो उनको प्रतिभा छ, सम्मान गर्नुपर्छ । भारतीय नायिकालाई समेत मन पर्यो र उनले पनि भेट्छु भनिछन् । यहाँ बालिकाप्रतिको संवेदनशीलतालाई कत्तिको ख्याल गरिएको छ भन्ने कुरा त्यत्तिकै महत्त्वपूर्ण छ ।

अहिले भाइरल भएको समयमा सबैले अन्तर्वार्ता लिन अनि भेट्न आउँछन् । केही समयपछि अन्य मानिस भाइरल भएर ओझेल परेजस्तै हुन सक्छिन् उनी पनि । त्यतिबेला ती बालिकाको मनोविज्ञान कसले बुझ्छ रु त्यसवेला बाल मनोविज्ञानमा पर्ने असर ख्याल गर्नेतर्फ कसैको ध्यान पुगेको देखिँदैन । सबै आफूलाई आवश्यक सामग्री तयार गर्ने ध्याउन्नमा मात्र रहेका देखिन्छन् ।

विगतमा ‘के छ हजुरु भन्ने थेगो भएका पश्चिम तिरका एक बालकले केही गीत पनि गाएका कारण भाइरल भएका थिए । धेरैले धेरै कुरा गरे, अन्तर्वार्ता लिए, संभाव्य सबै प्रयोग गरे तर पछि ती बालकको अवस्था बारे कसैले वास्ता गरेन केही समय अगाडि माग्दै हिँडेको उनको भिडियो पो भाइरल भयो । यद्यपि उनी अहिले परिवारकै सदस्यको रेखदेखमा रहेका छन् ।

यी र यस्ता प्रतिनिधि उदाहरण धेरै छन् । भाइरल भएका र पछि हाराएकाको सूची लामै छ । अभिभावकले उनीहरूलाई सहजरूपमा अगाडि बढाउन पाए वा सके भने त असल नै होला तर त्यसो हुन सकेन भने के होला ?

बालप्रतिभाका कारण केहीले केही समय छोटो अवधिको लागि प्रगति गरेको पनि देखिएको छ तर उनीहरूको भविष्य त सुरक्षित भएको उदाहरण छैन ।

अहिलेको ट्रेण्ड हेर्दा सम्बन्धित बालिकासँग अन्तर्वार्ता गर्न नपाए बुवा आमा, नजिकका आफन्त, टाढाका आफन्त, अलि टाढाका आफन्त, छिमेकी, त्यो पनि र नभए उखानमा भनेजस्तै गोरु बेचेको साइनो भएकोमा पुगेर पनि अन्तर्वार्ता लिन पछि पर्दैनन् । शीर्षक हुन्छ ल हेर्नुहोस्, फलानोको छिमेकीले के भने रु फलानोको बारेमा एक्स्क्लुसिभ भिडियो आदि इत्यादि ।

बालबालिकाको उमेर अनुसार के गर्न हुने, के गर्न नहुने भन्ने परिधी खिच्न जरूरी रहेको तर्क छ अधिवक्ता मदन दाहालको । भाइरल बालबालिकाको वृत्ति विकास भन्दा पनि आफ्नो स्वार्थ पूर्ति गर्न लाग्नेहरूको जमात बढी भएको उनले बताए । यस्ता बालबालिकाको हित भन्दा उनीहरूलाई प्रयोग गर्ने र आफू प्राचारित हुने गरी कुनै पनि बालबालिकाको प्रयोग गर्न नहुने उहाँको भनाइ छ । यो कुरा बालबालिकाको सर्वोत्तम हित विपरीत रहेको टप्प्णी उनले गरे ।

बाल मनोविज्ञानका कारण उनीहरूमा खुशी र कौतुहलता हुनु स्वभाविक छ तर कतिसम्म एक्स्पोज गर्ने, कतिसम्म गरियो भने उनीहरूमा असर पर्दैन भन्ने हेक्का राख्नु जरुरी छ । अङ्ग्रेजीमा भाइरस भनेको जिवाणु हो, शरीरमा जिवाणु भाइरस लाग्नुलाई भाइरल भनिन्छ । भाइरसको वृद्धि साह्रै द्रुत गतिमा हुने भएकाले भाइरसको संक्रमणपछि मानिस बिरामी हुन्छ ।

अहिले चलेको भाइरल शब्दले भने भाइरस सरह समाजमा सामाजिक सञ्जालका माध्यमले छिटो फैलिनु भन्ने अर्थ बोकेको छ । साधारण भाषामा भन्दा भाइरल हुनु भनेको सबैले थाहा पाउनु, चिन्नु, धेरै सकारात्मक वा नकारात्मक रूपमा चर्चित हुनु पनि हो ।

वयस्क मानिसहरू भाइरल भए त उनीहरूले आफ्नो व्यवस्थापन गर्लान् तर बालबालिकाले कसरी गर्ने रु यसतर्फ अधिकांशको ध्यान गएको देखिदैन । अहिले हरेक दिन कुनै न कुनै समाचार, गीत वा कुनै घटना भाइरल हुने गरेका छन् ।

अहिलेको ट्रेण्ड भनेको सकारात्मक होस वा नकारात्मक रातारात हरेकले हरेक ठाउँबाट सामाजिक सञ्जालमा भाइरल गराइरहेका पनि हुन्छन् । बालबालिकाको हकमा यही खालको लोकप्रियता कायम नरहन सक्छ । त्यही खालको प्रतिभा नरहन पनि सक्छ । त्यस्तो नहुँदाको अवस्थामा भने उनीहरूमा विचलन आउन पनि सक्छ । पहिले राम्रो थियो अहिले बिग्रियो भनेर बालबालिकामाथि दवाव पर्छ ।

सामाजिक सञ्जालमार्फत प्राप्त हुने स्टारडम त क्षणिक समयका लागि मात्र हो । यसले भोलिका दिनमा निरन्तरता पाइरहन वा नपाउन पनि सक्छ । निरन्तरता नपाएपछि उनीहरूमा विचलन आउन सक्ने जोखिमलाई हामीले कम आँक्न हुँदैन । स्टारडमलाई कायम राख्न चुनौती हुन्छ, आफूले आफैंलाई दबाब दिने त छँदैछ त्यसमाथि परिवार, आफन्त अनि छिमेकीको समेत दबाब झेल्नुपर्ने हुनसक्छ । स्टारडममा केन्द्रित हुँदा उनीहरूले आफ्नो पढाइ बिगार्ने सम्भावना पनि उच्च रहन्छ । अस्वाभाविक चर्चाका कारण उनीहरू हौसिने र घमण्डी बानिव्यहोरा विकास हुने सम्भावनालाई पनि नकार्न सकिन्न ।

अहिले घरका सदस्यहरूले नै टिकटक भिडियो जबर्जस्ती बनाउने गरेका पनि छन् । अभिनय गर्न जानेन मानेन भने गाली गलौज र कुटपिट गर्न पछि नपर्ने भएका छन्। यो सब गरेर हामीले बाल अधिकार हनन गर्ने मात्र होइन उनीहरूको स्वतन्त्रतामा समेत अंकुश लगाइरहेका छौँ ।

भाइरल भएका कारण त्यसले दीर्घकालीन रूपमा फाइदा हुने भए त भलो नै हुन सक्छ तर बाल मनोविज्ञानलाई असर पुगे के होला रु यस्तो कार्य समाजका कसैले पनि गर्नु उचित छैन । समाजले त हरेक बालबालिकालाई उत्तरोत्तर प्रगति हुनेदिशातर्फ लाग्न प्रेरित गर्न सक्नुचाहिँ बढी उपयोगी हुन्छ ।

बाल मनोविज्ञानमा भाइरल हुँदा र त्यसपछि गुमनाम हुँदा के असर पर्छ भनेर खासै अध्ययन भएको छैन । तर पश्चिमी देशहरूमा बालबालिकालाई भाइरल बनाइदिदा उनीहरूको आर्थिक तथा शारीरिक शोषण हुन सक्ने भएकाले त्यससम्बन्धी कानुनको माग हुन थालिसकेको छ ।

अमेरिका बाल तथा किशोरकिशोरीको मनोविज्ञानका विशेषज्ञ डा पाउल वेगलेको सामाजिक सञ्जालमा बालबालिकाको बढी संलग्नता उनीहरूको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । डा. पाउलले भने, सामाजिक सञ्जालले सबैभन्दा बढी असर गर्ने बालबालिकाको निद्रामा हो र राम्रो निद्रा उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यका लागि अत्यावश्यक छ।” डा. पाउलको भनाईमा सामाजिक सञ्जालमा बालबालिकाको बढी संलग्नता र बालबालिकाको बढ्दो गम्भीर सामाजिक व्यग्रता एन्जाइटी तथा अवसाद (डिप्रेशन)जस्ता मानसिक समस्याका बीचमा गहिरो सम्बन्ध छ ।

त्यसैले पश्चिमि देशहरूमा सामाजिक सञ्जालमा दुरूपयोग हुनबाट बालबालिकालाई कसरी जोगाउने भने अभिभावक तथा शिक्षकलाई सिकाउन थालिएको छ । तर हाम्रो दुर्भाग्य, यहाँ त अभिभावक तथा शिक्षक नै आफू भाइरल हुन बालबालिकाको दुरुपयोग गर्छन् ।
साभारः स्वतन्त्र समाचार (प्रकाश दाहाल)