हेटौंडा । मकवानपुर जिल्लामा डेङ्गु संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । स्थानीय सरकारले बेलैमा ध्यान नपु¥याउँदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गुको संक्रमण दर तिब्र गतिमा फैलिएको हो ।

आम जनताको प्रत्यक्ष स्वास्थ्य संग जोडिएको बिषयमा हेटौंडा उपमहानगरपालिकाले बेलैमा डेङ्गु नियन्त्रण तथा रोकथामका लागि गम्भीर भएर नलाग्दा हेटौंडा क्षेत्रमा अहिले डेङ्गुले आक्रान्त पारेको छ । स्थानीय सरकार भएपनि आम जनताले स्थानीय सरकारको अनुभूति गर्न भने पाएनन् । देखावटी रुपमा हेटौंडा उपमहानगरपालिकाले केही ट्याङकर स्प्रे गरे झैं गरेपनि डेङ्गु नियन्त्रण गर्न गम्भिर भएर नलाग्दा आम जनताले सास्ती खेप्नु परेको छ अहिले ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार २०७९ साउन १ गतेदेखि हाल सम्म डेङ्गु संक्रमितको संख्या ४ हजार ३६९ पुगेको छ । वर्षायाम सुरु भएदेखि डेङ्गुका बिरामी दिनहुँजसो देखा परेका छन् । मकवानपुरको हेटौंडा अस्पताल, निजी अस्पतालहरु, चितवनका अस्पतालमा समेत हेटौंडा उपमहानगरपालिका क्षेत्रका बिरामी उपचार गरिरहेका छन् ।

यसको नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले खास चासो दिएको छैन । हरेक कार्यपालिकाको बैठकमा डेङ्गुका बिरामीको उपचारका लागि सहयोग गर्ने वा यसको नियन्त्रणका लागि गर्ने प्रयासका बिषयमा खासै ठोस निर्णय हुन सकेको छैन । तर, व्यक्तिका स्वार्थ केन्द्रीत धेरै निर्णयहरु भएका छन् ।

डेङ्गु नियन्त्रण गर्ने भनेर हेटौंडाका वडा वडामा स्प्रे अभियान, जनचेतना जगाउने, सरसफाइ अभियान सञ्चालन गर्ने, किट उपलब्ध गराउने लगायतका कामहरु केवल देखावटी रुपमा मात्रै भएको आम जनताको आरोप छ ।