हेटौंडा । सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा डा कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवर्द्धन पैरवी, संरक्षण र सम्मानसम्बन्धी कार्यमा निरन्तररूपमा पु¥याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रा डा श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
त्यसैगरी, संस्थातर्फ मानव सेवा आश्रम, (काठमाडौँ) लाई सडकपेटी तथा अन्य सार्वजनिकस्थलमा परित्यक्त, असहाय, असमर्थ, बेवारिस रूपमा रही अत्यन्तै कष्टपूर्णरुपमा जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श, लालनपालन, संरक्षण र त्यस्ता व्यक्तिको शवको सद्गत वा व्यवस्थापनलगायतका कार्य गरी मानवअधिकारको संरक्षणमा पु¥याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
विसं २०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म सडकबाट झण्डै ८ हजार मानिसको उद्धार गरिसकेको छ । झण्डै एक हजार व्यक्तिलाई उनकै परिवारमा पुनमिलन समेत गराइसकेको छ । हाल काठमाडौंलगायत १९ जिल्लामा रहेका २३ शाखा कार्यालयहरूबाट आश्रमले देशभर भेटिएका सडकआश्रित मानवहरूको उद्धार गरी संरक्षण, उपचार तथा मनोविमर्श सेवा दिएर निको बनाइ परिवारमा पुनर्मिलन समेत गराउँदै आएको छ । परिवार फेला नपरेको खण्डमा उनीहरूलाई आश्रममा नै संरक्षण गर्दै आएको छ । यसरी आश्रममा अहिले पनि एक हजार ६०० व्यक्तिहरू आश्रित रहेको केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनले सडक पेटीहरूमा कोही पनि खाना, नाना र छानाको अभावमा न्यूनतम मानवअधिकारबाट बञ्चित हुन नपरोस् भनेर उनीहरूलाई उद्धार गर्दै संरक्षण गरिरहेको जानकारी दिए ।
नेपाल सरकारले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार अक्षय कोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने एक व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्ने कार्य प्रारम्भ गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्