हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले दुईवटा विधेयक स्विकृत गरेको छ ।

शुक्रबार बसेको उपमहानगरको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य सेवा विधेयक,२०७९ र हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान विधेयक, २०७९ स्विकृत गरेको हो । उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार जनस्वास्थ्य सेवा विधेयकले उपमहानगरअन्तर्गत बन्ने अस्पताल तथा स्वास्थ्य सस्ंथाको सेवालाई प्रभावकारी बनाई समस्याहरु समाधान गर्ने र प्रतिष्ठान विधेयकले प्रज्ञा प्रतिष्ठान स्थापना गरि भाषा,सस्कृती तथा कलाको क्षेत्रमा काम गर्ने जानकारी दिए ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका बालबालिका सम्बन्धी ऐन,२०७७ को पहिलो संशोधन विधेयक २०७९,नगर शिक्षा ऐन,२०७४ पहिलो संशोधन विधेयक २०७९,खेलकुद विकास ऐन,२०७७ को पहिलो संशोधन विधेयक २०७९ कार्यपालिका बैठकमा स्विकृत गरेको छ ।

बैठकले हेटौंडा उपमहानगरपालिका नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि पनि स्विकृत गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । स्विकृत विधेयक,ऐन तथा कार्यविधि आगामी पुस १४ गते हुने नगरसभामा पारितको लागि पेश गरिनेछ ।

प्रवक्ता न्यौपानेको अनुसार ४ मंसिरमा सम्पन्न निर्वाचनको मतगणना गर्ने क्रममा हेटौंडा–२ स्थित सिद्वार्थ माविमा भएको टुटफुट,मर्मत र रंगरोगन गरेवापत एक लाख ३२ हजार ८ सय ४८ रुपैयाँ खर्च भुक्तानी गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । बैठकले हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा नेपाल नगरपालिका संघको सहकोषाध्यक्ष पदमा चयन भएकोमा बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।