हेटौंडा । हेटौंडा ४ स्थित कर्रा–गर्दाेही सडक स्तरीकरण हुने भएको छ । आज पुस २७ गते सडक स्तरीकरणको लागि हेटौंडा उपमहानगरपालिकाले बोलपत्र आव्हान गरेको वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

कर्रा–गर्दाेही खण्डको गर्दाेही चौकदेखि सूर्य चौकको उकालोसम्म ३ सय ९० मिटरमा दूवै तर्फ ढल, कर्भ स्टोन, स्लोप डेन, अस्पाल्ट पीच सडकको बीचमा रहेको विजुली पोल समेत व्यवस्थापन गर्ने गरि वोलपत्र आव्हान भएको हो । यसै प्याकेजमा पशुपती मन्दिर पूर्वी क्षेत्रका तीन वटा सडक ५ सय २५ मि. अस्पाल्ट पीचको समेत समावेश भएको छ ।

वडा सिलिङ्गबाट १ करोड ४५ लाख र वडामा विनियोजित अन्य रकमसहित भ्याटसहित करिव २ करोडमा सडक निर्माण हुन लागेको वडा अध्यक्ष सिग्देलले जानकारी दिए । बजारको मूख्य क्षेत्रको सडक भईकन वर्षाेदेखि जिर्ण रहेको सडकको स्तरीकरणपछि स्थानीय बासिन्दासहित मकवानपुरको पूर्वी क्षेत्रका आमजनताले लाभान्वित हुनेछन् । यसअघि गर्दाेही चौकदेखि पूर्वतर्फ भैरवरोडसम्म सडक स्तरीकरण भईसकेको छ भने सूर्य चौकदेखि कर्रासम्मको सडक खण्ड आगामी आर्थिक वर्षमा निर्माण कार्य अगाडि बढाईने बताईएको छ ।