photo: Google

          नेपाल अहिले यस्तो देश बनेको छ, जसले केवल अन्र्तराष्ट्रिय श्रम बजारमा श्रमिकहरु मात्रै निर्यात गर्छ र देश चलाउँछ । वर्तमान समयमा यहाँ उद्योग, कलकारखाना र उत्पादनमुलक व्यवसाय खासै संचालन भएका छैनन् । वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्स (विप्रेषण) ले नै देशको अधिकांश अर्थतन्त्र धानेको छ ।

सामान्यतया कुनै एक स्थानबाट कुनै पनि प्रयोजनको लागि अर्को स्थानसम्म रुपयाँ पैसा पठाउने कार्यलाई विप्रेषण भनिन्छ । विप्रेषण अथवा रेमिट्यान्स वाह्य देशमा कार्यरत नागरिकद्वारा आफ्नो देशमा प्रवाह हुने पुँजी, नगद वा वित्त हो । वैदेशिक रोजगार आयआर्जनका लागि आफ्नो देश भन्दा बाहिर गै शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो । विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन् । वर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको विप्रेषणले धानिरहेको अवस्था छ । नेपालले अन्तर्र्रािष्ट्रय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरुलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ । नेपाली युवा श्रमिक कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा कोरिया, कतार, मलेसिया, दुबई, साउदी अरब, कुबेत, बहराइन, इजरायल आदि मुलुकहरू रहेका छन । अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

रहर होइन, बाध्यताले दिनहुँ हजारौं युवा जनशक्ति विदेशीनु परेको छ । आर्थिक अवस्था सुधार गर्न र गुणस्तरीय जीवनयापनका लागि लाउँ–लाउँ खाउँ खाउँ भन्ने उमेरमा आफ्नो मातृभूमि छाडेर हजारौं युवाहरु विदेशीएका छन् । स्वदेशमा रोजगारको प¥र्याप्त संभावना नहुँदा र कमाएको पैसाले जीवनयापन गर्न सक्ने अवस्था नहुँदा हजारौं नेपालीहरु विदेशी भूमिमा रगत, पसिना बगाउन बाध्य छन् । रगत, पसिना र मृत्यु संग गाँसिएको छ रेमिट्यान्स । विदेशीयका मध्ये केही सपना पुरा गरेर फर्कने गरेका छन् भने कोही काठको रातो बाकसमा बन्द भएर फिर्ता हुन्छन् । यो प्रत्येक नेपालीको बाध्यता वा विड्म्वना नै हो । आर्थिक अवस्था सुधार गर्ने, घर घडेरी जोड्ने, साहुको ऋण तिर्ने र परिवारको साथमा खुसीयाली जीवन व्यत्तित गर्ने लालशामा विदेशीएका हजारौं नेपाली मध्ये केही खुसीका पोकाहरु बोकेर फर्कन्छन् भने केही विदेशी भुमिमै खुसी खोज्दा खोज्दै अलप हुने गर्छन् । यो वास्तावकिता अहिले प्रत्येक नेपालीको हो । एक घर एक वैदेशिक रोजगार भएको छ अहिले नेपालमा । कतिपय साथीभाई गएर पैसा कमाएको, घरघडेरी जोडेको र जीवन स्तर सुधारिएको देखेर समेत विदेशीने गरेका छन् । घरको चुल्हो वल्न छाडेपछि विदेशीनुको विकल्प छैन अहिले नेपाली समाजमा ।

सन् २००१ मा २० बर्षको उमेरमा कतार छिरेका गोर्खा नगरपालिका–७ का राम बहादुर रोक्का त्यति बेला पैसा पठाउने माध्यम नहुँदा आफुले कमाएको पैसा डलमा साटेर साथीभाईसंग नेपाल पठाउने गर्थे । कतारको अजाज इन्जिनियरिङ्ग कम्पनीमा हेल्परमा आएका उनले सुरुमा मासिक कतारी ६ सय रियालमा काम गरे । तलब वापत पाएको ६ सय रियाल मध्ये त्यति बेला प्रत्येक महिना श्रमिकहरुले स्वयम् भिषा वापत मासिक एक सय रियाल बुझाउने गरेका थिए । त्यो बेला पैसा पठाउने माध्यम नहुँदा वैदेशिक रोजगारमा आउनेहरुले डलर साटेर रेमिट्यान्स  (विप्रेषण) पठाउने गरेका थिए । संगै काम गर्ने चिनजान र घर नजिकको साथीभाई घर जानेबेला आफुले कमाएको पैसा डलरमा साटेर प्रत्येक बर्ष घर पठाउथें । त्यो बेला करिव एक डलर बराबर नेपाली ७३ रुपियाँ थियो । विदेशमा कमाएको पैसा अर्थात रेमिट्यान्सले प्रायः श्रमिकहरुले घरको ऋण तिर्न, बिवाह गर्न, घर बनाउन र घर खर्च चलाउनका लागि खर्च गरेको देखिन्छ ।

व्यापार व्यवसाय बन्द, हड्ताल र विभिन्न राजनीतिक अस्थिरताका कारण बन्द भएपछि युवाहरु बाध्य भएर राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् । राहदानी बनेपछि दलाल, नातेदार वा चिनजानको व्यक्ति मार्फत मेनपावर धाउन पर्ने अहिले प्रत्येक नेपालीहरुको बाध्यता बनेको छ । स्वदेशमै केही गरौं भन्ने वातावरण नहुँदा यु्वा जनशक्ति विदेशमा निर्यात हुनुपर्ने बाध्यता भएको छ । जहाँ गएपनी राजनीति भर्ति केन्द्र, आसेपासे र गुटउप गुट चलेपछि स्वदेशमै केही गरौं भन्ने युवाहरु निराश छन् अहिले ।

नेपालमा राजनीतिक स्थिरता नहुँदा केवल राजनीतिक उत्पादन मात्रै भएको छ । यहाँ दिनहुँ हजारौं नेता र कार्यकर्ता मात्रै उत्पादन भएका छन् । देश दिनहुँ झन् झन् गरिव हुँदै गएको छ । प्रत्येक नेपालीको काँधमा अहिले ३९ हजार तीन सय १६ ऋण पुगेको छ । गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो । गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ । अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ ।

बढ्दो वैदेशिक रोजगारी र विप्रेषण प्रवाहसँगै यसले विभिन्न आर्थिक सामाजिक प्रभाव पारेको छ । वैदेशिक रोजगारीबाट प्राप्त भएको विप्रेषण आर्थिक वर्ष २०७२÷७३ मा कुल गार्हस्थ उत्पादनको २९.५ प्रतिशत रहेको छ । यस्तो अनुपात हेर्दा नेपाल विश्वको तेस्रो स्थान रहेको छ । उक्त आर्थिक वर्ष दैनिक औसत १ अर्ब ८२ करोड विप्रेषण नेपाल भित्रियो । ताजकिस्तान र किर्गिज रिपब्लिक मात्र नेपाल भन्दा अगाडि छन् ।

          नेपालमा भित्रिने रेमिट्यान्सको स्रोत मुलकमा भने खाडी मुलुककै बर्चस्व छ । केही समययता युरोप, अमेरिकालगायतका देशबाट रेमिट्यान्स आउने क्रम बढेको छ । चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकलाई आधार बनाएर नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको रेमिट्यान्ससम्बन्धी नयाँ अध्ययन प्रतिवेदनले खाडी मुलुकबाट आउने विप्रेषण कुल विप्रेषणको ५०.३ प्रतिशत रहेको देखाउँछ । चालु आर्थिक वर्ष २०७६÷७७को पहिलो चार महिनामा कुल तीन खर्ब चार अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो अवधिमा कतारबाट ५३ अर्ब ९३ करोड र भारतबाट ४३ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । राष्ट्र बैङ्कका अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टको संयोजकत्वमा भएको अनुसन्धानअनुसार सबैभन्दा बढी १७.७ प्रतिशत रेमिट्यान्स कतारबाट आएको छ । नेपालको रेमिट्यान्समा भारतको हिस्सा १४ दशमलव २ प्रतिशत छ । संयुक्त अरब इमिरेट्स (यूएई) बाट १३.४ प्रतिशत र साउदी अरबबाट १२.५ प्रतिशत रेमिट्यान्स आएको देखिन्छ । मलेसियाबाट आएको रेमिट्यान्सको हिस्सा ९.७ प्रतिशत छ । नेपाल भित्रिएको कुल रेमिट्यान्समा संयुक्त राज्य अमेरिकाको हिस्सा ८ दशमलव ३ प्रतिशत देखिएको छ । नेपालले भारतबाट गत आर्थिक वर्ष २०७५÷७६मा एक खर्ब २८ अर्ब रेमिट्यान्स भित्र्याएको थियो । जुन नेपाल भित्रिएको रेमिट्यान्सको १४.६२ प्रतिशत हो ।

विश्व बैंकको अध्ययन अनुसार बढी रेमिट्यान्स भित्र्याउने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्छ । विप्रेषणको उल्लेख्य प्रवाहले गर्दा गरिबी घटेको छ, चालु खाता र भुक्तानी सन्तुलन सकारात्मक रहेको छ, र सहरदेखि गाँउसम्म आर्थिक गतिविधि चलायमान भएको छ । एक दशक लामो आन्तरिक द्वन्द्व र न्यून आर्थिक वृद्धिको अवस्थामा पनि विकासका सामाजिक सूचकहरू जस्तै औसत आयु, साक्षरता दर र बालबालिकाहरूको विद्यालय भर्नामा पछिल्ला वर्षहरू उल्लेख्य सुधार भएको छ । यसको श्रेय विप्रेषण आप्रवाहलाई जान्छ । हुन त वैदेशिक रोजगारीका नकारात्मक पाटाहरू पनि नरहेका होइनन् ।

आफ्नो घरको दैनिक खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार, जग्गा खरिद, घर निर्माण, ऋण तिर्न लगायतका कामका लागि विप्रेषणको प्रयोग भएको देखिन्छ । मासिक रुपमा पठाईएको विप्रेषणको प्रतिशत धेरै देखिएको हुँदा विप्रेषणकै आधारमा आर्थिक निर्भरता रहेको पनि तथ्य देखिन्छ ।

वैदेशिक रोजगार मार्फत आर्जन गरेको रकम बैंक, मनी ट्रान्सफर, आफ्न्त लगायत बिभिन्न माध्यमबाट पठाउने गरिन्छ । रोजगारका क्रममा कमाएको पैसा बैंकिङ्ग प्रणाली मार्फत परिवारका सदस्यको नाममा खाता खोल्न सो खातामा रकम जम्मा गर्न सकिन्छ । स्वदेशमा आफ्नो नामको खाता खोली पैसा जम्मा गरी स्वदेश आएपछि रकम निकाल्न सकिन्छ । बैंकबाट रकम पठाउँदा सुरक्षित, भरपर्दो हुन्छ । त्यस्तै नेपाल राष्ट्र बंैकबाट मान्यता प्राप्त मनी ट्रान्सर्फरबाट पैसा पठाउँन सकिन्छ । मनि ट्रान्सर्पफरबाट पैसा पठाउँदा ८ देखि १७ अंक सम्मको गोप्य नम्बर, नाम, ठेगााना सहितको विवरण सम्बन्धित व्यक्तिलाई टिपाएर सम्बन्धित व्यक्तिले उक्त रकम निकाल्न सक्छ ।

हुन्डी मार्फत पनि पैसा पठाउने गरेको देखिन्छ । हुन्डी कहिल्यै गर्नु हुदैन, यो अवैध कारोवार हो । हुण्डी गर्दा कतिपय अवस्थामा हुण्डी कारोवारीले नै पैसा खाएर समेत भाग्ने गरेका छन् । हुण्डी कारोवार गैरकानुनी कारोवार हो, त्यसैले विदेशमा कमाएको रकम सुरक्षित र भरपर्दो तरिकारले पठाउँनका लागि बैंंक तथा वित्तिय संस्थाको प्रयोग गर्नुपर्दछ । औपचारिक माध्यमबाट पैसा पठाउनेहरूको ठूलो हिस्सा भए पनि हुण्डीको प्रयोग पनि कायमै रहेबाट विप्रेषण प्रवाहलाई सहज बनाउन सरकारले थप प्रयास गर्नुपर्ने आवश्यकता छ ।

वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले नेपालको अर्थतन्त्र धानेपनि वैदेशिक रोजगारमा जानेहरुलाई सरकारले भने वेवास्ता गर्ने गरेको छ । वैदेशबाट फर्किएकाहरुलाई सरकारले उचित व्यवस्थापन गर्न नसक्दा फेरि पनि रोजगारीका लागि राहदानी बोकेर मेनपावर धाउनुपर्ने नेपालीहरुको साझा समस्या हो । नेपालमा उत्पादनमूलक कल कारखाना र उद्योग धन्दा संचालन नहुँदा रोजगारीको अवसर न्यून र ज्याला पनि कम भएका कारण युवाहरु सधै मेनपावरमा राहदानी बुझाउन बाध्य छन् । देशको अर्थतन्त्र थेगेको रेमिट्यान्स पठाउने जनशक्तिलाई नेपाल सरकारले पनि विशेष रुपमा हेर्नुपर्ने आजको आवश्यकता हो । उनीहरुको उचित व्यवस्थापन र रोजगारीको ग्यारेन्टी गरेर नेपालमै उत्पादनमूलक उद्योग कलकारखाना स्थापना गरेर युवा शक्तिलाई रोजगार बनाउनुपर्छ । साथै २१ औं शताब्दीको शिक्षा प्रणालीमा पनि सुधार गरि सौद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान र प्राविधिक शिक्षा दिन जरुरी छ । स्वदेशमै रोजगार र जीवनयापन गर्ने वातावरण भए हजारौं आमाका छोराहरु रातो बाकसमा फर्कन पर्ने थिएन् भने हजारौं महिलाहरु विदुवा र छोराछोरी टुहुरो हुनुपर्ने थिएन् ।

सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्न सके नेपालको दीर्घकालीन विकाश हुनेमा कुनै दुइमत छैन । रेमिट्यान्सबाट प्राप्त रकम उत्पादनमुलक कार्यमा लगाउने वातावरण र सुरक्षाको ग्यारेन्टी सरकारले गरे वैदेशिक रोजगारमा गएका प्रत्येक श्रमिकले रगत र पसिना संग साटेको रेमिट्यान्स सहि ठाउँमा सदुपयोग हुने थियो ।

अनिल पराजुली
थप जानकारी