

हेटौडा । हेटौडा–१८ मा रहेको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।
हेटौडा–१८ का वडा अध्यक्ष अनिल बानियाँका प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष छन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा समूहका अध्यक्ष छन्दप्रसाद न्यौपानेले चालु आव ०७८÷०७९ को लागि ३ करोड बढीको बजेट प्रस्तुत गर्नु भएको छ । समूहले अघिल्लो वर्ष साल जातको गोलाई र दाउरा समूह भनदा बाहिर विक्री गर्दा प्राप्त भएको रकमलाई यस आवमा खर्च गर्ने गरि बजेट बाडफाँड गर्नु भएको हो ।
प्रतिवेदनमा खानेपानीको लागि १८ लाख, आवश्यक पर्ने विभिन्न स्थानमा संरचना बनाउन १ करोड, ईन्डक्सन चुल्हो खरिदमा २५ लाख, खेलमैदान बनाउन ३० लाख, आयआर्जनमा २१ लाख, तारबारमा १० लाख रुपैयाँ बजेट विनियोजित गर्नु भएको छ । यसैगरि मन्दिर,गुम्वा संरक्षणमा ७ लाख, दुना टपरी बनाउने तालिमको लागि ४ लाख, सिलाई बुनाई तालिमको लागि ७ लाख, वन व्यवस्थापनमा ४ लाख, संस्थागत विकासमा ३० लाख, स्थानीय शुल्कमा ४० लाख रकम विनियोजित गरिएको छ ।
भेलामा कोषाध्यक्ष धन बहादुर घलानले आव ०७५÷०७६ आव ०७६÷०७७ र ०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा पूर्व अध्यक्षहरु कृष्ण बहादुर भट्टराई, दिपेन्द्र बानियाँ, केशवराज पण्डित, गोपाल बहादुर न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल, समूहका पूर्व पदाधिकारी, ज्येष्ठ उपभोक्ता लगायतकालाई सम्मान गरिएको थियो ।
साधारणसभामा हेटौडा–१८ का वडा सदस्य तोयनाथ तिमल्सिना, डिभिजन वन कार्यालयका निमित्त प्रमुख बसन्तराज गौतम, सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशकी कोषाध्यक्ष निर्मला न्यौपाने, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय हर्नामाडीका अधिकृत दीपक प्रसाद पुडासैनी, बंशगोपाल सामुदायिक वनका अध्यक्ष हरेराम बानियाँ, समूहका सल्लाहकार केशवराज पण्डित, गोपाल बहादुर न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्