

हेटौंडा । मकवानपुर र सिन्धुलीलाई जोड्ने मदन भण्डारी लोकमार्गअन्तर्गत्को बागमती नदीको पुल तीन दिनसम्म बन्द हुने भएको छ ।
मदन भण्डारी लोकमार्गको धरान–चतरा–हेटौंडा सडकखण्ड अन्तर्गत् मकवानपुर र सिन्धुली जोड्ने बागमती नदीको पुल निर्माण कार्यका कारण आज शुक्रबारदेखि बन्द हुने भएको हो । आइतबारसम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
दोलखा, रामेछाप र सिन्धुलीबासीलाई प्रदेश मुकाम हेटौंडा आउन उक्त सडक खण्ड उपयुक्त हुन्छ । हेटौंडा आवतजावतका लागि पछिल्लो समय धेरै व्यक्तिले यही सडक प्रयोग गर्ने गरेका थिए । ११ वर्षसम्म निर्माण हुन नसकेको बागमती नदीको पुल यसवर्ष सम्पन्न हुँदैछ ।
सम्झौताको ११ वर्षसम्म पनि पुल निर्माण नभएपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले केही महिनाअघि स्थलगत निरीक्षण गरी निर्माण सक्काउन निर्देशन दिएका थिए । त्यसयता निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाले भटाभट काम गरिरहेको छ । बागमती पुलले सिन्धुलीको हरिहरपुरगढी गापा–४ र मकवानपुरको बागमती गापा–४ जोड्छ ।
बागमती पुलमाथि कालोपत्र गर्नुपर्ने भएकाले सवारीसाधन आवतजावतमा रोक लगाइएको स्वच्छन्द निर्माण सेवाका सुपरभाइजर सन्तोष सापकोटाले बताए । उक्त पुलको १५ वैशाखमा उद्घाटन गर्ने तयारी भइरहेको छ । निर्माण कम्पनीले चैत मसान्तभित्र सबै काम सक्ने लक्ष्य लिएको छ । २९ असार २०६८ मा २० करोड ६२ लाख रुपियाँमा पुल निर्माणका लागि सम्झौता भएको थियो ।
पुल निर्माण भएपछि हेटौंडाबाट सिन्धुली, रामेछाप, १ नम्बर प्रदेशको उदयपुर, ओखलढुंगा, खोटाङ, धरान सहजै पुग्न सकिन्छ । बागमती नदीमा पुल नबन्दा स्थानीयले टायरको सहायतामा मोटरसाइकल तार्न एक हजार रुपियाँ लिने गरेका थिए । वर्षात्को समयमा दुई गाउँबीचको सम्बन्ध टाढिनेगरेको थियो ।
साझाकुराबाट
प्रतिक्रिया दिनुहोस्