हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक बिजुली बत्ती पुगेको छ । अति सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा मुख्य लाइन अझै जडान हुन नसक्दा पेल्ट्रिक सेटमार्फत बिजुली पुर्याइएको हो ।

बिजुली नभएकोले त्यहाँका चेपाङहरु सल्लाको दियालो बालेर घरलाई उज्यालो पार्ने गर्थे । तर,आईतबार गाउँमा बत्ती बाल्न पेन्ट्रिक सेट उद्घाटन भएसँगै त्यहाँका चेपाङको घरको अध्यारो हटेको छ । सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा बनेको पेन्ट्रिक सेट आईतबारबाट उक्त स्थानमा सञ्चालनमा आएको छ । ४ किलोवाट क्षमताको पेन्ट्रिक सेट (हाइड्रोपावर) सञ्चालनमा आएसँगै स्थानीय चेपाङ हर्षित भएका छन् ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत प्राधिकरणमार्फत बिजुली बत्ती पुगेको छैन । गाउँपालिकाको केहि स्थानमा यस्तै पेन्ट्रिक सेट सञ्चालन गरेर बत्ती बालिएको छ भने कतिपय स्थानका चेपाङ समुदाय अझैपनि अध्यारोमा नै बस्न बाध्य छन् । अध्यक्ष मल्लले गाउँपालिका भरिमा करिव २० वटा पेन्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार सो पेन्ट्रिक सेटबाट केहि वडाका घरधुरीलाई बत्ती पुगेको भएपनि अझै केहि वडा अध्यरोमा नै बस्न बाध्य छन् ।

कुल २३ लाखमा जडान भई सञ्चालनमा आएको पेन्ट्रिक सेटको लागि सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जालले १३ लाख सहयोग गरेको थियो भने गाउँपालिकाले ६ लाख रुपैयाँ खर्चिएको छ । बाँकी ४ लाख रुपैयाँ बराबरको स्थानीय बासिन्दाले श्रमदान गरेका छन् । २०७७ सालको पुसबाट सुरु भएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएर सञ्चालनमा आएको सञ्जालका कार्यकारी निर्देशक प्रविन्द्र शाक्यले जानकारी दिए ।

राक्सिराङ–९ का वडाध्यक्ष रामकुमार बाल्पा थिङको अध्यक्षतामा भएको पेल्ट्रिक सेट उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, नेपाली कांग्रेस राक्सिराङ सभापति विरेन्द्र जिम्बा, मानव अधिकार सञ्जाल मकवानपुरकी माया लामा, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबालगायतकाको आतिथ्यता रहेको थियो ।