धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहने देखिन्छ । केतुको प्रभावले कीर्ति बढेर जाने, धनलाभ हुने र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । शनिको साढेसाती, बृहस्पति र राहुको गोचरले भने चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा हुनेछ, तर घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ, अत: मिश्रित फल पाइनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ । मदिरा, प्रेस, तथा स्वास्थ्य व्यवसायीलाई राम्रो फाइदा हुनेछ । घरजग्गा, गाडी तथा मेटलका व्यवसायमा उल्झन र नोक्सानी पनि हुनसक्छ । शेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्ने हुन्छ । पार्टनरसिपमा गरेको कार्यमा पनि विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ । आर्थिक दृष्टिले असार, साउन र मंसिर महिना राम्रो हुनेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष नयाँ प्रेम सम्बन्ध जोडिनेछ साथै प्रेम र मित्रताको बन्धन कसिलो हुने र प्रेम सम्बन्धलाई विवाहमा परिणत समेत हुन सक्छ, तर जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेहरूलाई विवाद उत्पन्न हुन सक्छ र पारिवारिक मन मुटाब समेत बढ्न सक्छ साथै दाम्पत्य जीवनमा पनि मतभेद बढ्ने सम्भावना रहन्छ ।

शिक्षा
वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला, तर मध्यबाट भने शैक्षिक क्षेत्र राम्रो हुनेछ । आई. टी. र शोध विषयका विद्यार्थीहरूले पढाईमा उत्कृष्ट नतिजा पाउनेछन् । कानून र वाणिज्य विषयका विद्यार्थीहरूको लागि भने यो वर्ष कमजोर सावित हुनसक्छ ।

पेशा/रोजगार
यो वर्ष लगानी गरेको ठाउँबाट त्यति लाभ नमिल्ला, अत: लगानी गर्नु पूर्व विचार गर्नु पर्छ । रोजगाका लागि विदेश जानेहरूका लागि भने राम्रो छ । सरकारी जागिरेलाई सरुवा र बढुवाको योग पनि छ । एजेन्ट, समाजसेवा तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन् ।

स्वास्थ्य
हड्डी, मानसिक, अनुहारमा तथा छालासँग सम्बन्ध समस्या बढ्नसक्छ र आफ्नो तथा आफ्नो हितैषीको औषध उपचारमा धन खर्च बढ्नेछ । राम्रो स्वास्थ्यको लागि खानपिन र व्यायामको नियमित अभ्यास गर्नुहोला ।

शुभ रङ्ग
घ्यू रङ्ग, सुन्तला रङ्ग, हरियो र निलो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ५, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई अझै वृद्धि गराउनको लागि बिहीवार विष्णु भगवानको दर्शन / पूजा गरि शाकाहारी भोजन गर्नाले राम्रो हुनेछ । प्रत्येक बिहीवार निमुखा प्राणीलाई खानेकुरा दिने र वृद्धजनलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । बिहीवार कै दिन केराको वृक्षारोपण र पूजन गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साभारः हाम्रो पात्रो