हेटौंडा । मकवानपुरका गठबन्धन दलहरुले सोमबार साँझ ५ बजे बैठक बसेर स्थानीय तहको भागवण्डा टुंग्याउने भएका छन् । सत्तारुढ गठबन्धनका दलहरुको ८ वटा बैठकले सहमतिको विन्दु खोजेको र सोमबार साँझ ५ बजे बैठक डाकिएको बताइएको छ ।

आइतबार दिउँसो कार्यदलको बैठक बस्नु पर्ने सूची भए पनि नेकपा माओवादी केन्द्रको मकवानपुर र चितवन कमाण्डको छलफल भएकाले बैठक सोमबार सरेको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले बताए । ‘माओवादीको आन्तरिक छलफलका कारण बैठक नबसेको हो,’ पोखरेलले भने , ‘सोमबारका बैठकले सबै विषयमा लगभग सहमति गर्ने छ र सहमति नबने प्रदेश र केन्द्रमा लेखेर पठाउने विषयमा सहमति हुनेछ ।’

हेटौंडा केन्द्रको जिम्मा
मकवानपुरका गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच अहिलेका ६ स्थानीय तहमा सोही पार्टीलाई नै दिने विषयमा सहमति भएको छ । जस्तो नेपाली कांग्रेसले वकैया र राक्सिराङ गाउँपालिका, नेकपा माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिका, नेकपा (एकीकृत समाजवादी)ले कैलाश र ईन्द्रसरोवर गाउँपालिका लिने विषयमा तीनै दल सहमत छन् ।

यसपछिको बाँकी ४ स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकासहित देशभरका ११ उपमहानगरपालिका केन्द्रीय कार्यदलले जसलाई दिए पनि मान्य हुने गठबन्धनमा सहमति बनेको छ । हेटौँडामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी छ । यसपछिको मनहरी, भीमफेदी र मकवानपुर गढी गाउँपालिका तीन दलले एक–एक वटा लिन तयार छन् । त्यहाँ पनि मनहरीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी कायमै छ । नेकपा (एकीकृत समाजवादी)ले हेटौँडा लिए मनहरी आफूहरुले पाउनु पर्ने कांग्रेसको दाबी छ । माओवादीको मनहरीमा अध्यक्षसहित अन्यमा उपप्रमुख पाउनु पर्ने दाबी छ ।