हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले मकवानपुरमा ६ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ ।

सोमबार पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भूगोलका इञ्चार्जहरुले ६ वटा स्थानीय तहममा मेयर र अध्यक्ष पाउनु पर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी पनि गरे । पार्टी संगठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, ईन्द्रसरोवर र हेटौँडा उपमहानगरपालिकामा अध्यक्ष र मेयर पाउनु पर्ने गरी गठबन्धनमा छलफल गर्न इञ्चार्जहरुले बैठकमा रिपोर्टिङ गरेका थिए ।

राक्सिराङका इञ्चार्ज कृष्णबहादुर चेपाङ र मनहरीका इञ्चार्ज भूमिनन्द अर्यालले दुवै भूगोलमा गठबन्धनमा सम्मानजनक सहभागिता नभए एक्लै उठ्न पनि पार्टी पंक्ति तयार रहेको बताए । यस्तै, गठबन्धनले अध्यक्ष दिन तयार भएको कैलाश र ईन्द्रसरोवरमा पार्टीको स्वभाविक दाबी हुने नै भयो । कैलाश इञ्चार्ज कालु ढकाल र ईन्द्रसरोवर इञ्चार्ज कुन्साङ लामाले पनि अध्यक्षसहित केही वडाहरुमा सम्मानजनक हिसाबले गठबन्धन हुनु पर्ने बताए ।

हेटौँडा उपमहानगरपालिकामा पनि मेयरसहित ५ वटा वडामा समाजवादीले दाबी गर्नु पर्ने नेताहरुको भनाइ थियो । गठबन्धनमै जाँदा पनि मेयरसहित ५ वटा वडामा दाबी रहेको पार्टी उपाध्यक्ष एवम् हेटौँडा उपमेयर मीना लामा र हेटौँडा पार्टी इञ्चार्ज ध्रुव भुजेलले बताए । यस्तै, पछिल्लो समय पार्टी संगठन सुदृढ भएकाले भीमफेदीमा पनि अध्यक्षको दाबी गर्ने आधार भएको रिपोर्टिङ थियो इञ्चार्ज शिवहरि बर्तौलाको ।

यस्तै, बैठकमा समाजवादीले कम्तीमा उपाध्यक्षसहित सम्मानजनक ढंगले वडाध्यक्षहरु पाउनु पर्ने दाबीमा मकवानपुर गढी र वकैया गाउँपालिका रहेको छ । गढी इञ्चार्ज राजन दाहाल र वकैया इञ्चार्ज नारायण तिमिल्सिनाले उपाध्यक्षसहित वडाध्यक्षहरुमा दाबी रहेको र गठबन्धनमा यही अनुसार छलफल चलाउन पार्टी पंक्तिलाई आग्रह गरे । थाहा नगरपालिका र बागमती गाउँपालिकामा मात्र समाजवादीले तत्काल अध्यक्ष, उपाध्यक्ष या मेयर उपमेयरमा दाबी नगरेको हो । बैठकमा रिपोर्टिङ गर्ने इञ्चार्जहरुले गठबन्धनसँग लिनु पर्दा कम्तीमा लिनु पर्ने वडामा ३९ वटा वडा माग गर्न आग्रह गरेका थिए । ती वडाहरुमा समाजवादीको पकड रहेको इञ्चार्जहरुको दाबी थियो ।

उत्तम शर्मा सचिवालय सदस्य
बैठकले हेटौँडा वडा नम्बर १ का नेता उत्तम शर्मा न्यौपानेलाई सचिवालय सदस्यमा मनोनयन गरेको छ । केही दिनअघि एमाले छाडेर समाजवादी पार्टी प्रवेश गरेका न्यौपानेलाई जिल्ला सदस्यमा मनोनयनसँगै सचिवालय सदस्यको जिम्मेवारी दिइएको हो । यस्तै, श्याम ढुंगाना र रामबहादुर स्याङ्तानलाई जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव विष्णु दाहालले बताए ।