हेटौंडा । काठमाडौंमा सिभिल अस्पताल, चितवनमा शिक्षक अस्पताल भनेजस्तै हेटौँडामा जेष्ठ नागरिक अस्पताल स्थापनाका लागि जनसंख्या तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले सैद्धान्तिक सहमति लिएका छन ।

बैठकमा सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री खतिवडाले भने, ‘मकवानपुरमै जग्गा खोजेर अस्पताल सञ्चालनका लागि सैद्धान्तिक सहमति लिइसकेको छु, काम अघि बढ्छ ।’

थाहा नगरलाई ५० करोड
मन्त्री विरोध खतिवडाले आफ्नै पहलमा शहरी विकास मन्त्रालयमार्फत थाहा नगरपालिकालाई ५० करोड रुपैयाँ उपलब्ध हुने बताए । ‘मन्त्री भएपछि आफ्नो भूगोलमा काम गरेकै छु, थाहामा ५० करोडका लागि पहल गरेँ, अन्त पनि काम भइरहेको छ,’ मन्त्री खतिवडाले भने, ‘स्क्याण्डल गर्ने हाम्रो चलन छैन, स्क्याण्डल गरेर केही हुने वाला पनि छैन, जनताले विरोध खतिवडा चिनेकै छन्, विरोध खतिवडालाइ कहाँका जनताले के चाहेका छन्, थाहै छ ।’

मनहरी महादेववेशी सडकलाई एक अर्ब रुपैयाँ
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पश्चिम मकवानपुरको मनहरीदेखि धादिङको महादेववेशीसम्म बाटो, पुल, पुलेसाका लागि ९९ करोड रुपैयाँ राष्ट्रिय योजना आयोगमार्फत उपलब्ध हुने बताए । ‘मनहरी–राक्सिराङ–डाँडाबास–दामगडे–महादेववेशी बाटोका लागि ९९ करोड रुपैयाँ योजना आयोगमार्फत विनियोजन गराएको छु,’ खतिवडाले भन्नुभयो, ‘यो रकमले पश्चिम मकवानपुरको सडक विकासमा उल्लेख्य काम हुने देखिन्छ, अरुजस्तो यस्तो गरेँ, उस्तो गरेँ भनेर हल्ला नगरे पनि मन्त्री भएपछि पनि मकवानपुरको विकासका लागि सकेको गरेकै छु ।’