

हेटौंडा । गाउँका युवाहरु स्थानीयस्तरमै स्वरोजगार गर्ने योजनाअनुसार उद्यमीतर्फ आकर्षित भएका छन् ।
मकवानपुरका अधिकांश स्थानीय तहमा वैदेशिक रोजगारीबाट सीप सिकेर आएकादेखि स्वदेशमै रहेका युवाहरुले स्वरोजगार मूलक कार्यमा पाइला अगाडि बढाएका हुन् । यसकै एक उदाहरण मनहरी गाउँपालिका घर भएका अनिष राई बनेका छन् । राईंले वित्तीय संस्थाबाट ऋणमै गाउँमा चप्पल र कागजको प्लेट उद्योग सञ्चालनमा ल्याएका छन् ।
मनहरी गाउँपालिका–६ का राईले सञ्चालन गरेको उद्योग उद्घाटन गरिएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले उद्योगको उद्घाटन गरे । गाउँमै उद्योग स्थापना गर्न पाउँदा खुशी लागेको राई बताउँछन् ।
राईले लघु उद्यम कार्यक्रमअन्तर्गत ८ लाख ५० हजार रुपियाँमा उद्योग स्थापना गरेका हुन् । मनहरीको साना किसान कृषि सहकारी संस्थाबाट ऋण लिएर उद्योग स्थापना गरेको राईले जानकारी दिए । उद्योगबाट दैनिक ५ सय जोर चप्पल उत्पादन गर्ने योजना रहेको उनले बताए । उद्योगबाट ब्रतबन्ध, पूजाआजामा हाल धेरै प्रचलनमा आउने गरेको पेपर प्लेटपनि उत्पादन हुने राईले जानकारी दिए ।
उद्योगको भवन निर्माणका लागि ३ लाख रुपियाँ खर्च भएको राईले बताए । सामग्री उत्पादनका लागि मेसिन खरिदमा ३ लाख रुपियाँ र चप्पल बनाउने सामग्री खरिद गर्न २ लाख ५० हजार रुपियाँ खर्च भएको उनले जानकारी दिए । उद्योगमा ४ जनाले रोजगारी पाउने उनले बताए । चाहना र लगनशीलता भए स्वदेशमै आयआर्जनका लागि राम्रो काम गर्न सकिने उदाहरण राईले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्