हेटौंडा । छुरा प्रहार प्रकरणमा फरार रहेका युवक पक्राउ परेका छन । २४ बर्षीया युवतीमाथि छुरा प्रहार गरि फरार रहेका युवक चार सातापछि पक्राउ परेका हुन ।

११ चैतमा हेटौंडा–८ कमानेस्थित स्मृति टोलमा अनिशा राईमाथि छुरा प्रहार गर्ने सिर्जन यादव बिहीबार पक्राउ परेका थिए । अनिशामाथि छुरा प्रहारपछि फरार यादव आफैं जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेको अवस्थामै यादव प्रहरीको सम्पर्कमा आएको प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

हेटौंडा–२ का २९ वर्षीय यादवले छुरा प्रहार गर्दा युवतीको घाँटीको पछाडि भागमा चोट लागेको थियो । राईको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरेपछि केही दिनअघि डिस्चार्ज गरिएको छ । अनिशा उपचारपछि हेटौंडास्थित घरमै छिन् ।