हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु भएको छ । आज परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको हो ।

परीक्षाका लागि मकवानपुरमा २४ वटा केन्द्रहरु तोकिएको छ । मकवानपुर जिल्लाबाट यस वर्ष १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।